Nepal Purbadhar

जनकपुर–अयोध्या सीधा रेल सेवा सुरु, धार्मिक पर्यटन र दुई देशको सम्बन्ध थप मजबुत हुने अपेक्षा


काठमाडौं । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्याबीच विशेष रेल सेवा सञ्चालनमा आएको छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवा उद्घाटन गरेसँगै दुई ऐतिहासिक धार्मिक सहर रेलमार्गबाट प्रत्यक्ष जोडिएका हुन्।

सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन्।

उद्घाटनपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ। अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेल्वेका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्नेछन्।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्या क्यान्टसम्म सञ्चालन हुने यो रेल सेवाको दूरी करिब ६०४ किलोमिटर छ। नयाँ साप्ताहिक सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन, तीर्थयात्रा तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

रेलवे बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार रेल सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ। प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।

त्यस्तै, अयोध्या क्यान्टबाट प्रत्येक सोमबार साँझ ५ः५० बजे रेल नम्बर १५५९६ जनकपुरधामका लागि प्रस्थान गर्नेछ।

यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ।

सुरक्षाको विषयमा लामो छलफल

नेपाली भूमिमा भारतीय रेल सञ्चालन गर्दा सुरक्षा व्यवस्थापन कसले गर्ने भन्ने विषयमा नेपाल र भारतबीच लामो समय छलफल भएको थियो।

नेपालले आफ्नो भूमिमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने धारणा राखेको थियो भने भारतले भारतीय रेल रहेसम्म त्यसको सुरक्षाको जिम्मेवारी आफ्नै सुरक्षाकर्मीले लिनुपर्ने अडान राख्दै आएको थियो। दुई देशबीचको छलफलपछि सेवा सञ्चालनको प्रक्रिया अघि बढेको हो।

रामायण सर्किट र धार्मिक पर्यटनलाई नयाँ गति

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा लिइन्छ। यी दुई धार्मिक सहरलाई रेलमार्गले जोड्नुको मुख्य उद्देश्य रामायणसँग सम्बन्धित धार्मिक पर्यटन प्रवर्द्धन गर्नु पनि हो।

त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहको धार्मिक तथा सांस्कृतिक मान्यताले जनकपुर र अयोध्यालाई ऐतिहासिक रूपमा जोड्दै आएको छ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डप तथा अयोध्याको राम मन्दिर दुवै देशका श्रद्धालुका प्रमुख धार्मिक गन्तव्य हुन्। विशेषगरी प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट साधुसन्त र श्रद्धालुहरू जन्तीका रूपमा आउने परम्परा छ। यसले दुई सहरबीचको धार्मिक सम्बन्धलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको छ।

रेल सेवा सञ्चालनले यस धार्मिक आवागमनलाई थप व्यवस्थित बनाउनुका साथै भारतीय पर्यटकलाई नेपालका अन्य पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यसैलाई ध्यानमा राखेर जनकपुरबाट पोखरालगायत नेपालका अन्य सहरमा हवाई सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको छ। जनकपुर आउने भारतीय पर्यटकलाई देशका अन्य पर्यटकीय क्षेत्रमा पुर्‍याउने नेपालको योजना छ।

यसअघि भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। अयोध्यासम्मको नयाँ रेल सेवाले उक्त धार्मिक तथा सांस्कृतिक सम्पर्कलाई थप विस्तार गरेको छ।


Read Previous

मोदीसँग द्विपक्षीय भेट गर्न हैदरवाद हाउस पुगे बालेन

Read Next

बालेन र मोदीले गरे चार परियोजनाको शिलान्यास र एउटाको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar