
उत्पादन, प्रसारण र वितरणलाई एउटै संस्थागत छातामुनि छुट्टाछुट्टै व्यावसायिक इकाइका रूपमा सञ्चालन गर्न सुझाव, एकदेखि पाँच वर्षभित्र पुनर्संरचना गर्न सकिने प्रस्ताव
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक पुनर्संरचना आवश्यक भए पनि तत्कालै कानुनी रूपमा अलग-अलग कम्पनीमा विभाजन गर्नुभन्दा चरणबद्ध सुधार गर्नुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले आयोजना गरेको ‘नेपालको विद्युत् क्षेत्र सुधार’ विषयक नीतिगत छलफलमा सहभागीहरूले प्राधिकरणको उत्पादन, प्रसारण र वितरणलाई छुट्टाछुट्टै व्यावसायिक तथा लेखा इकाइका रूपमा विकास गर्नुपर्ने धारणा राखेका हुन् ।
उनीहरूले प्रारम्भिक चरणमा यी तीनवटै क्षेत्रलाई एउटै संस्थागत संरचनाभित्र राखेर आन्तरिक कार्यगत विभाजन (इन्टरनल फङ्सनल अनबन्डलिङ) लागू गर्नुपर्ने सुझाव दिएका छन् । आवश्यक संस्थागत, वित्तीय र नियामकीय पूर्वाधार तयार भएपछि मात्र पूर्ण कानुनी विभाजनको विकल्पमा जान सकिने उनीहरूको निष्कर्ष छ ।
२०८३ असार ७ गते इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा आयोजित छलफलमा नेपाल विद्युत् प्राधिकरणकी उपप्रबन्धक इन्जिनियर रोहिणी पौडेल र ऊर्जा नियमन विज्ञ तथा विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डा. रामप्रसाद धितालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पूर्वसचिव इन्जिनियर दिनेश कुमार घिमिरेको सहजीकरणमा भएको छलफलमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापा, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष प्रकाशचन्द्र दुलाल, विद्युत् विकास विभागका उपमहानिर्देशक इन्जिनियर गोकर्णराज पन्थ र बेलायती दूतावासकी पूर्वाधार सल्लाहकार इन्जिनियर रेशा पियाले धारणा राखेका थिए ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्राधिकरणको संरचनात्मक पुनर्संरचना तथा अनबन्डलिङको विषय अघि सारेपछि त्यसको कार्यान्वयन मोडेलबारे बहस भइरहेको छ । छलफलमा सहभागीहरूले विद्युत् क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र लगानीमैत्री बनाउन पुनर्संरचना आवश्यक रहेको स्वीकार गरे पनि पर्याप्त तयारीबिना कानुनी विभाजन गर्दा नयाँ समस्या सिर्जना हुन सक्ने बताएका हुन् ।
४ खर्ब २३ अर्बको पीपीए दायित्व मुख्य चुनौती
प्राधिकरणको पुनर्संरचना गर्दा सबैभन्दा ठूलो चुनौती दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) बाट सिर्जना हुने वित्तीय दायित्व व्यवस्थापन रहेको प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बताएका छन् ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणको जडित क्षमता ४ हजार १३० मेगावाट पुगेको छ । प्राधिकरणले १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनासँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । प्रत्येक वर्ष करिब १ हजार मेगावाट नयाँ उत्पादन क्षमता थपिने क्रमसमेत रहेको छ ।
यसरी निजी क्षेत्रसँग भएका दीर्घकालीन पीपीएका कारण आर्थिक वर्ष २०९२/९३ सम्ममा प्राधिकरणको करारजन्य भुक्तानी दायित्व ४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थापाले बताएका थिए ।
प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरणमा कानुनी रूपमा विभाजन गर्दा विगतमा गरिएका पीपीएको दायित्व कुन कम्पनीले वहन गर्ने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
विशेषगरी वितरण कम्पनीलाई छुट्टै कानुनी संरचनामा लैजाँदा उत्पादनबाट हुने आम्दानीको स्रोत नहुने तर राज्यले उपभोक्तालाई उपलब्ध गराउँदै आएको विद्युत् अनुदान र विगतका महँगा पीपीएको दायित्व उसैमाथि पर्ने जोखिम रहेको उनले औँल्याएका थिए ।
प्राधिकरणका कुल कर्मचारीमध्ये ८० देखि ८५ प्रतिशत वितरण क्षेत्रमा कार्यरत रहेको उल्लेख गर्दै उनले कर्मचारी व्यवस्थापन पनि पुनर्संरचनाको महत्वपूर्ण विषय हुने बताएका थिए ।
उनका अनुसार नेपालमा विद्युत् उत्पादन क्षमता बढिरहेको भए पनि आन्तरिक विद्युत् खपतको अधिकतम माग करिब २ हजार २०० मेगावाटको हाराहारीमा छ । अर्कोतर्फ प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले उत्पादित विद्युत् खपत तथा निर्यातका लागि आवश्यक पूर्वाधार विस्तारमा चुनौती थपिरहेको छ ।
त्यसैले तत्कालै कानुनी रूपमा प्राधिकरण टुक्र्याउनुभन्दा आन्तरिक कार्यगत विभाजन गरेर वित्तीय अवस्था र जिम्मेवारी स्पष्ट पार्नुपर्ने उनको सुझाव थियो ।
होल्डिङ कम्पनी बनाएर तीन क्षेत्रको छुट्टाछुट्टै हिसाब राख्नुपर्ने
प्राधिकरणको पुनर्संरचनाका लागि इन्जिनियर रोहिणी पौडेलले होल्डिङ कम्पनी मोडेल प्रस्ताव गरेकी छन् ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई एउटै होल्डिङ कम्पनीका रूपमा कायम राखेर त्यसअन्तर्गत उत्पादन, प्रसारण र वितरणका छुट्टाछुट्टै कम्पनी वा व्यावसायिक इकाइ सञ्चालन गर्न सकिन्छ ।
यसरी इकाइगत रूपमा छुट्टाछुट्टै लेखा प्रणाली लागू गर्दा प्रत्येक क्षेत्रको आम्दानी, खर्च, नाफा, घाटा र सञ्चालन लागतको वास्तविक अवस्था पहिचान गर्न सकिनेछ ।
अहिले प्राधिकरणले आफैँ विद्युत् उत्पादन गर्ने, प्रसारण गर्ने र वितरणसमेत गर्ने भएकाले संस्थाभित्रै स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने उनको तर्क थियो ।
उत्पादन, प्रसारण र वितरणको काम अलग-अलग व्यावसायिक इकाइबाट सञ्चालन गर्दा यस्तो स्वार्थको द्वन्द्व कम हुने र निजी क्षेत्रका उत्पादकलाई राष्ट्रिय प्रसारण प्रणालीमा समान पहुँच उपलब्ध गराउन सहज हुने उनको भनाइ थियो ।
तर पर्याप्त संस्थागत तथा वित्तीय तयारीबिना कानुनी विभाजन गर्दा प्रशासनिक जिम्मेवारी छरिने, निकायहरूबीच समन्वय कमजोर हुने र प्रसारण शुल्क निर्धारणमा विवाद आउन सक्ने उनले औँल्याएकी थिइन् ।
त्यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्रमा विद्युत् प्रवाह गर्दा लाग्ने प्रसारण शुल्क अर्थात् ह्विलिङ चार्ज निर्धारण र पुराना पीपीएको दायित्व बाँडफाँट पनि चुनौतीपूर्ण हुन सक्ने उनको विश्लेषण थियो ।
उनले अमेरिकाको क्यालिफोर्नियामा देखिएको विद्युत् संकट र भारतका वितरण कम्पनीहरूले भोग्दै आएको वित्तीय समस्यालाई पर्याप्त नियामकीय तथा वित्तीय तयारीबिना गरिएको संरचनात्मक परिवर्तनका सम्भावित जोखिमका उदाहरणका रूपमा प्रस्तुत गरेकी थिइन् ।
पौडेलले विद्युत् प्रणाली सञ्चालनलाई व्यापारिक स्वार्थबाट अलग राख्न स्वतन्त्र प्रणाली सञ्चालक (आईएसओ) को व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरेकी छन् । यस्तो प्रणालीले प्राधिकरणका आयोजना र निजी उत्पादकबाट आउने विद्युत् व्यवस्थापनमा निष्पक्ष भूमिका खेल्ने तथा राष्ट्रिय ग्रिडमा विभेदरहित पहुँच सुनिश्चित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
एकल खरिदकर्ता प्रणालीबाट बहुखरिदकर्ता बजारमा जानुपर्ने
ऊर्जा नियमन विज्ञ डा. रामप्रसाद धितालले नेपालको वर्तमान विद्युत् बजार एकल खरिदकर्ता प्रणाली (सिंगल बायर मोडल) मा आधारित रहेकाले त्यसलाई परिवर्तन गरेर बहुखरिदकर्ता बजार (मल्टी बायर मार्केट) विकास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
अहिले निजी क्षेत्रका अधिकांश विद्युत् उत्पादकले नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेर आफ्नो विद्युत् बिक्री गर्दै आएका छन् । यसले धेरै उत्पादकलाई एउटै खरिदकर्तामाथि निर्भर बनाएको र विद्युत् बजारमा प्रतिस्पर्धा सीमित गरेको उनको विश्लेषण थियो ।
उनले विद्युत् व्यापार गर्ने छुट्टाछुट्टै कम्पनीलाई अनुमति दिएर निजी क्षेत्रलाई स्वदेशी तथा सीमापार विद्युत् बजारमा खुला पहुँच उपलब्ध गराउनुपर्ने बताएका थिए ।
बहुखरिदकर्ता प्रणालीमा विद्युत् उत्पादकले विभिन्न अनुमति प्राप्त व्यापारिक कम्पनीमार्फत विद्युत् बिक्री गर्न सक्नेछन् । यसले उत्पादकलाई बजारका थप विकल्प उपलब्ध गराउनुका साथै विद्युत् खरिदको वित्तीय जोखिम एउटै संस्थामा केन्द्रित हुन नदिने अपेक्षा गरिएको छ ।
उनका अनुसार अहिलेको संरचनामा प्राधिकरणले विद्युत् उत्पादन र खरिदको सम्पूर्ण वित्तीय भार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बजारमा अन्य खरिदकर्ता र व्यापारिक कम्पनीको प्रवेश भएपछि प्राधिकरणलाई प्रसारण पूर्वाधार निर्माण तथा विस्तारमा बढी केन्द्रित हुन सहज हुनेछ ।
धितालले प्राधिकरणलाई तत्कालै कानुनी रूपमा विभाजन गर्नुभन्दा एकदेखि पाँच वर्षको अवधिमा चरणबद्ध पुनर्संरचना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रारम्भिक चरणमा प्राधिकरणलाई नेपाल इलेक्ट्रिसिटी होल्डिङ कम्पनीका रूपमा विकास गरेर त्यसअन्तर्गत उत्पादन, प्रसारण तथा प्रणाली सञ्चालन, विद्युत् व्यापार र वितरणका छुट्टाछुट्टै व्यावसायिक इकाइ बनाउन सकिने उनको अवधारणा छ ।
पछि आवश्यक मूल्यांकनका आधारमा ती इकाइलाई पूर्ण रूपमा अलग-अलग कम्पनीका रूपमा विकास गर्न सकिनेछ ।
तर यसका लागि भौतिक सम्पत्ति, वित्तीय दायित्व र जनशक्तिको अवस्थासहित विस्तृत राजनीतिक अर्थतन्त्र विश्लेषण आवश्यक पर्ने उनले बताएका थिए ।
एकल खरिदकर्ता प्रणालीले निजी उत्पादकलाई जोखिममा पारेको इप्पानको भनाइ
इप्पानका उपाध्यक्ष प्रकाशचन्द्र दुलालले नेपालको विद्युत् बजारलाई धेरै विक्रेता तर एउटै प्रमुख खरिदकर्ता भएको बजारका रूपमा व्याख्या गर्दै एकल खरिदकर्ता प्रणाली अन्त्य गर्नुपर्ने बताएका थिए ।
उनका अनुसार निजी क्षेत्रले विद्युत् उत्पादनमा ठूलो लगानी गरे पनि आफ्नो उत्पादन बिक्रीका लागि मुख्यतः प्राधिकरणमै निर्भर रहनुपर्ने अवस्था छ । यसले निजी उत्पादकको बजार पहुँच र व्यावसायिक विकल्प सीमित बनाएको छ ।
नेपालले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न करिब ७५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान रहेको उल्लेख गर्दै उनले यति ठूलो लगानी राज्यको स्रोतबाट मात्र सम्भव नहुने बताएका थिए ।
त्यसैले उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा निजी तथा सार्वजनिक लगानी परिचालन गर्न सकिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
दुलालले विद्युत् व्यापार कम्पनीलाई व्यावसायिक रूपमा सक्षम बनाउँदै भविष्यमा सर्वसाधारणलाई समेत सेयर जारी गर्न सक्ने सार्वजनिक कम्पनीका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका थिए । यसका लागि नेपाल टेलिकमको सार्वजनिक–निजी सहभागितामा आधारित कम्पनी संरचनालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो ।
उनका अनुसार विद्युत् व्यापार कम्पनीलाई सक्षम बनाएर सीमापार विद्युत् व्यापारको अवसर उपयोग गर्न सके त्यसबाट आम्दानी सिर्जना गर्न सकिन्छ । तर बजारलाई निष्पक्ष र प्रतिस्पर्धी बनाउन स्वतन्त्र तथा अधिकारसम्पन्न विद्युत् नियमन आयोग आवश्यक हुन्छ ।
दुलालले प्रस्तुत गरेको तथ्यांकअनुसार २०८३ जेठसम्म नेपालले विद्युत् निर्यातबाट २४ अर्ब रुपैयाँ आम्दानी गरिसकेको छ ।
नियामकीय क्षमता नबढाई जिम्मेवारी हस्तान्तरण गर्न नहुने
विद्युत् विकास विभागका उपमहानिर्देशक इन्जिनियर गोकर्णराज पन्थले प्राधिकरणको पुनर्संरचनालाई तत्काल संस्थागत संरचना परिवर्तन गर्ने विषयमा मात्र सीमित नगरी दीर्घकालीन लक्ष्य प्राप्त गर्ने मार्गचित्रका रूपमा लिनुपर्ने बताएका थिए ।
उनका अनुसार प्राधिकरणले निजी क्षेत्रसँग गरेका दीर्घकालीन टेक अर पे पीपीए कानुनी रूपमा बाध्यकारी भएकाले ती सम्झौताको दायित्वलाई संरचनात्मक परिवर्तनका नाममा सहजै अन्त्य गर्न सकिँदैन ।
प्राधिकरणको कुल कर्मचारीमध्ये ८० देखि ८५ प्रतिशत वितरण क्षेत्रमा कार्यरत रहेको अवस्थामा वितरण संरचनालाई तत्कालै पूर्ण रूपमा अलग गर्दा कर्मचारी व्यवस्थापन र वित्तीय दायित्वमा समस्या उत्पन्न हुन सक्ने उनको भनाइ थियो ।
उनले उत्पादन, प्रसारण र वितरणबीच आम्दानी बाँडफाँट गर्ने सूत्र तथा वित्तीय संरचना स्पष्ट बनाउनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, विद्युत् विकास विभाग र विद्युत् नियमन आयोगबीच अनुमतिपत्र जारी गर्ने, अनुगमन गर्ने र नियमन गर्ने जिम्मेवारीको सीमा स्पष्ट हुनुपर्ने उनको धारणा थियो ।
विद्युत् नियमन आयोग अहिले पनि संस्थागत तथा प्राविधिक क्षमता विकासको चरणमा रहेकाले सबै नियामकीय जिम्मेवारी तत्कालै आयोगलाई हस्तान्तरण गर्दा नियामकीय रिक्तता सिर्जना हुन सक्ने उनले चेतावनी दिएका थिए ।
उनका अनुसार विद्युत् विकास विभागले आयोजना अनुमतिपत्र, वातावरणीय स्वीकृति तथा सम्भाव्यता अध्ययनसम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भने विद्युत् नियमन आयोगले क्रमशः आफ्नो क्षमता विकास गर्दै बजार नियमनको भूमिका विस्तार गर्नुपर्छ ।
सुधारको नेतृत्व सरकारले लिनुपर्ने विकास साझेदारको सुझाव
बेलायती दूतावास काठमाडौंकी पूर्वाधार सल्लाहकार इन्जिनियर रेशा पियाले विद्युत् क्षेत्र सुधारको नेतृत्व सरकारले नै लिनुपर्ने बताएकी थिइन् ।
उनका अनुसार विकास साझेदारले नेपालको सुधार रणनीति निर्धारण गर्नेभन्दा पनि सरकारले तय गरेको नीतिलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक सहयोग, अध्ययन, प्रमाणमा आधारित विश्लेषण र संस्थागत क्षमता विकासमा सहयोग गर्नुपर्छ ।
उनले सुधारका क्रममा चारवटा क्षेत्रमा विशेष सहयोग आवश्यक रहेको औँल्याएकी थिइन् ।
पहिलो, नीतिगत निर्णयका लागि वस्तुनिष्ठ तथ्य तथा प्रमाण संकलन गर्ने । दोस्रो, विभिन्न देशका विद्युत् क्षेत्र सुधारका अभ्यास अध्ययन गरी नेपालको अवस्थाअनुसार नियामकीय संरचना विकास गर्ने । तेस्रो, विद्यमान तथा नयाँ स्थापना हुने संस्थाको संस्थागत र प्राविधिक क्षमता बढाउने । चौथो, नीतिगत अवरोध हटाएर निजी क्षेत्र तथा प्रत्यक्ष वैदेशिक लगानी परिचालन गर्ने ।
उनले बेलायत, अमेरिका, अस्ट्रेलिया, नर्वे र स्विडेनलगायत देशका अभ्यासबाट सिक्न सकिने भए पनि विदेशी मोडेललाई जस्ताको तस्तै नक्कल गर्न नहुने बताएकी थिइन् ।
विद्युत् क्षेत्रको सुधार गर्दा उपभोक्तामाथि अनुचित मूल्यभार पर्न नहुनेमा समेत उनले जोड दिएकी थिइन् ।
तीन विकल्पमा संरचनात्मक सुधारको प्रस्ताव
सेमिनारमा नेपालको विद्युत् क्षेत्र सुधारका लागि मुख्यतः तीनवटा विकल्प प्रस्तुत गरिएका छन् ।
पहिलो, नेपाल विद्युत् प्राधिकरणलाई होल्डिङ कम्पनीका रूपमा कायम राखेर उत्पादन, प्रसारण र वितरणका छुट्टाछुट्टै व्यावसायिक इकाइ सञ्चालन गर्ने ।
दोस्रो, विद्युत् प्रणाली सञ्चालनलाई व्यापारिक स्वार्थबाट अलग राख्न स्वतन्त्र प्रणाली सञ्चालकको व्यवस्था गर्ने ।
तेस्रो, अहिलेको एकल खरिदकर्ता प्रणालीलाई बहुखरिदकर्ता बजारमा रूपान्तरण गर्दै निजी क्षेत्रलाई विद्युत् व्यापार तथा राष्ट्रिय प्रसारण ग्रिडमा खुला पहुँच उपलब्ध गराउने ।
यी विकल्प कार्यान्वयन गर्दा प्रत्येक क्षेत्रको वित्तीय अवस्था, सम्पत्ति, दायित्व, कर्मचारी व्यवस्थापन र नियामकीय जिम्मेवारी स्पष्ट पार्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
विशेषगरी विद्युत् नियमन आयोगलाई प्रसारण तथा वितरणसम्बन्धी इजाजतपत्र जारी गर्ने अधिकार दिन आवश्यक कानुनी संशोधन गर्नुपर्ने विषयसमेत कार्यपत्रमा समेटिएको छ ।
समग्रमा सेमिनारले विद्युत् क्षेत्र सुधारको उद्देश्य प्राधिकरणलाई टुक्र्याउनु मात्र नभई उत्पादन, प्रसारण, वितरण र व्यापारलाई प्रतिस्पर्धी, पारदर्शी, वित्तीय रूपमा दिगो र लगानीमैत्री बनाउनु हुनुपर्ने निष्कर्ष निकालेको छ ।
त्यसका लागि तत्काल आन्तरिक कार्यगत विभाजनबाट सुधार सुरु गरी वित्तीय दायित्वको मूल्यांकन, नियामकीय क्षमता विकास, कर्मचारी व्यवस्थापन र प्रसारण पूर्वाधार विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने सुझाव दिइएको छ । आवश्यक पूर्वसर्त पूरा भएपछि मात्र अर्को चरणको संरचनात्मक परिवर्तन गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

