Nepal Purbadhar

भीमफेदी ईभी दुर्घटना: थप तीन जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो, ११ जनाको पहिचान खुल्यो


मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ भने थप फेला परेका तीन जनाको पहिचान हुन बाँकी छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेको थियो। गाडीमा चालकसहित २० जना सवार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।

त्यस्तै, ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका-८ का ३० वर्षीय रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ। थप फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल ल्याइएको थियो। बाँकी तीन जनाको शव दुर्घटनास्थलबाट पछि फेला परेको हो।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।

त्यस्तै, थप उपचारका लागि चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


Read Previous

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त जुटाउन नेपालको आग्रह

Read Next

विराटनगर चार विकेटले विजयी हुँदा पोखरा एनपीएल तेस्रो संस्करणको प्रतिस्पर्धाबाट बाहिरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar