Nepal Purbadhar

गच्छे-भालुबाङ सडक निर्माण तीव्र, १२० किलोमिटरको यात्रा ४७ किलोमिटरले छोटिने


अर्घाखाँची, २५ कात्तिक । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुग्न अब ४७ किलोमिटर दूरी छोटिने भएको छ। गच्छे-भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै हालको १२० किलोमिटर घुमाउरो यात्रा घटेर ७३ किलोमिटरमा सीमित हुने भएको हो।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको ७३ किलोमिटर लामो सडकको गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर खण्डमा ग्राभेल सम्पन्न भएको छ। केही खण्डमा कालोपत्र तथा अन्य संरचना निर्माणको कामसमेत भइरहेको छ।

सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका अनुसार चालु आर्थिक वर्षमा गच्छे-ढिकुराको ५.६५ किलोमिटर र अर्को खण्डको करिब ९.५ किलोमिटर सडक कालोपत्र गर्ने काम अघि बढेको छ। यसका लागि प्रदेश र सङ्घीय सरकारबाट ५-५ करोड गरी १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, प्युठान र पाल्पाका नागरिकलाई समेत प्रदेश राजधानी पुग्न सहज हुनेछ। साथै ग्रामीण क्षेत्रका कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्‍याउन र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्पूर्ण सडक कालोपत्र गर्न भने थप बजेट आवश्यक रहेको र करिब १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।


Read Previous

भोजपुरको तिवारीभञ्याङ-च्याङ्गे सडक कालोपत्र, गाउँपालिकाको केन्द्रसम्म यात्रा सहज

Read Next

तीन वर्षभित्र अधुरो हुलाकी सडक निर्माण सकिने, ५ अर्ब ६० करोडको ठेक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar