Nepal Purbadhar

तीन वर्षभित्र अधुरो हुलाकी सडक निर्माण सकिने, ५ अर्ब ६० करोडको ठेक्का

फाइल तस्बीर।


बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढेको छ। सडक तथा पुल निर्माणका लागि हुलाकी सडक निर्देशनालयले कुल ५ अर्ब ६० करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढाएको हो।

बाँकेको राप्ती सोनारी-३ नारायणपुरदेखि दाङको हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणका लागि कन्काई खड्का जेभीले २ अर्ब २ करोड रुपैयाँमा ठेक्का पाएको छ। त्यस्तै, हाटबासदेखि दाङको राजपुरस्थित गँगदीसम्मको २२ किलोमिटर सडक निर्माणको जिम्मा हिम सगरमाथा पशुपति जेभीले १ अर्ब ५१ करोड रुपैयाँमा पाएको छ।

यस खण्डमा निर्माण हुने १६ ओटा पुलका लागि पनि ठेक्का सम्झौता भइसकेको छ। पुल निर्माणका लागि १ अर्ब ४९ करोड ३५ लाख रुपैयाँको ठेक्का लगाइएको छ। पुल निर्माण कम्पनीले फिल्ड सर्भे र माटो परीक्षणको काम सुरू गरिसकेका छन् भने सडक निर्माणका लागि तिहारपछि औपचारिक सम्झौता हुने आयोजना कार्यालयले जनाएको छ।

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक दुई लेनको अस्फाल्ट प्रविधिमा निर्माण हुनेछ। सडकसँगै आवश्यक नाला, कल्भर्ट र पर्खालसमेत बनाइनेछ।

सडक निर्माण सम्पन्न भएपछि बाँके र दाङका सीमावर्ती क्षेत्रका बासिन्दालाई आवतजावत सहज हुनुका साथै कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ।


Read Previous

गच्छे-भालुबाङ सडक निर्माण तीव्र, १२० किलोमिटरको यात्रा ४७ किलोमिटरले छोटिने

Read Next

बिमस्टेक बैठक: क्षेत्रीय स्वास्थ्य सहकार्य र साझा चुनौतीबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar