
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। सन्दीपको उत्कृष्ट बलिङले पोखराको ब्याटिङ लाइनअप धराशायी बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। उनले पोखराका ओपनर युवराज सिंह साम्रा, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार बलमा आउट गरे।
सन्दीपले ओभरको तेस्रो बलमा उत्कृष्ट लयमा रहेका साम्रालाई इसुरु उडानाबाट क्याच आउट गराए। साम्राले ४७ बलमा ७ चौका र ५ छक्कासहित ८४ रन बनाएका थिए। उनी आउट हुनुअघि पोखरालाई बलियो योगफलतर्फ अघि बढाइरहेका थिए।
त्यसपछि चौथो बलमा सन्दीपले पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू आउट गरे। पाँचौँ बलमा किरण ठगुन्नालाई पनि एलबीडब्ल्यू आउट गर्दै उनले ह्याट्रिक पूरा गरे। करुणारत्ने र ठगुन्ना दुवै शून्य रनमा आउट भए।
सन्दीपले ३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिएका छन्। उनको इकोनोमी रेट ७.६६ रहेको छ। जारी प्रतियोगितामा उनको यो उत्कृष्ट बलिङ प्रदर्शन हो।
साम्राको लगातार दोस्रो उत्कृष्ट प्रदर्शन
पोखराका ओपनर युवराज सिंह साम्राले विराटनगरविरुद्ध पनि उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिएका थिए। उनले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। पछि उनले आफ्नो व्यक्तिगत स्कोर ८४ रन पुर्याए।
साम्राले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए। कुशल भुर्तेलसँग मिलेर उनले अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई यस सिजनको पहिलो जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। विराटनगरविरुद्ध पनि उनको ब्याटिङले पोखरालाई राम्रो सुरुआत दिएको थियो। तर, सन्दीपको ह्याट्रिकले उनको उत्कृष्ट इनिङ्स टुंग्यायो।
दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलको लिग चरण अन्तिमतिर पुग्दै गर्दा विराटनगर र पोखरा दुवै टोली प्लेअफको सम्भावना कायम राख्न संघर्षरत छन्। पोखरा लगातार चार हारपछि एक जित निकाल्दै प्रतियोगितामा फर्किएको थियो। विराटनगरले भने यसअघि पाँच खेलबाट दुई जित हासिल गरेको थियो।
आजको पहिलो खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। दुवै टोलीले प्लेइङ ११ मा परिवर्तन गरेका छन्। विराटनगरले तीन खेलाडी परिवर्तन गर्दै नारायण जोशी, शुभन रञ्जनी र आन्द्रे रसेलको स्थानमा प्रतिश जिसी, इसुरु उडाना र चरिथ असलंकालाई खेलाएको छ। पोखराले भने मेहदी हसनको स्थानमा रमेश मेन्डिसलाई समेटेको छ।
लिग चरणका बाँकी खेलले प्लेअफको समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।
आजका दुई खेल
एनपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गरिरहेका छन् भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्।
अंकतालिकामा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अंकसहित अगाडि छन् भने साविक विजेता लुम्बिनी लायन्सको ७ अंक छ। चितवन राइनोज पनि प्लेअफको सम्भावना बलियो बनाउने अवस्थामा छ।
जनकपुर बोल्ट्स, विराटनगर र कर्णालीलाई प्लेअफमा पुग्न बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजासमेत अनुकूल हुनुपर्ने अवस्था छ। पोखराको प्लेअफ सम्भावना भने निकै कमजोर बनेको छ।
दोस्रो खेलमा कर्णालीलाई हराउन सके लुम्बिनीको प्लेअफ यात्रा पक्का हुनेछ। सुरुआती दुई खेल जितेको कर्णाली त्यसपछिका तीन खेलमा लगातार पराजित भएपछि दबाबमा छ। प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई पनि जित आवश्यक छ।


