

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।
उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो । रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो ।

रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन् ।
करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।

१७ वटा डिब्बा रहेको यस रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।

भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

