Nepal Purbadhar

अयोध्यादेखि जनकपुरधामसम्म चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी


जनकपुरधाम। भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।

उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२:३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित समय छ। रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोहको तयारी गरिएको छ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।

१७ वटा डिब्बा रहेको यो रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।

रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध तथा नेपाल–भारतबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

तस्वीर : अमरेन्द्र कुमार यादव/नेपाल फोटो लाइब्रेरी


Read Previous

हतारमा प्राधिकरण टुक्र्याउनुभन्दा चरणबद्ध पुनर्संरचनामा जोड, ४ खर्ब २३ अर्बको पीपीए दायित्व चुनौती

Read Next

जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar