
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको सम्बन्धमा आवश्यक कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त कागजात अध्ययन गरेपछि यस विषयमा थप छलफल गरिने बताए ।

‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु,’ सभापति खड्काले भने ।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो । उजुरीमा ठेक्का रद्द गर्ने प्रक्रिया कानुनसम्मत नभएको दाबी गरिएको छ ।

उजुरी प्राप्त भएपछि समितिले यस विषयमा छलफल अघि बढाएको हो । छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने महत्त्वपूर्ण आयोजना हो । आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भएको थियो । तर, सुरुङ निर्माण सम्पन्न भए पनि त्यसपछि आयोजनाको बाँकी काम अघि बढ्न सकेको छैन । ठेक्का रद्द प्रकरणले आयोजनाको निर्माण प्रक्रिया थप प्रभावित हुने देखिएको छ ।

