Nepal Purbadhar

भोजपुरको तिवारीभञ्याङ-च्याङ्गे सडक कालोपत्र, गाउँपालिकाको केन्द्रसम्म यात्रा सहज


भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। सडक कालोपत्र भएपछि वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकमा आवतजावत सहज भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा सडकसँग जोडिएको गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिका केन्द्र च्याङ्गेसम्म सडक कालोपत्र गरिएको हो। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।

तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्गेसम्मको करिब २ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्।

उनका अनुसार सडकलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण गरिएको हो। पहिलो प्याकेजमा तिवारीभञ्याङको शून्य विन्दुदेखि वडा नं. २ स्थित स्वास्थ्यचौकीसम्म र दोस्रो प्याकेजमा स्वास्थ्यचौकीदेखि गाउँपालिका केन्द्र च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ।

सडक कालोपत्र भएपछि स्थानीयवासीमा उत्साह थपिएको पौवादुङमा गाउँपालिका-२ का स्थानीय राजकुमार तिवारीले बताए। सडकले आवतजावत सहज बनाउनुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ।

गाउँपालिकाको सम्पूर्ण भूभागलाई समेट्ने यस सडकबाट स्थानीय कृषि उपजले बजार पाउने अपेक्षा गरिएको उनले बताए।

गाउँपालिका अध्यक्ष किरण राईले तिवारीभञ्याङ–च्याङ्गे सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको बताए। भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा समेत रहेको यस सडकलाई अँधेरीघाटसम्मै कालोपत्र गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्र भएसँगै बाँकी खण्डलाई पनि स्तरोन्नति गर्दै पूर्ण रूपमा कालोपत्र गर्ने योजना रहेको अध्यक्ष राईले बताए।

सडक निर्माण सम्पन्न भएपछि स्थानीयको आवतजावत, कृषि उत्पादनको बजारीकरण तथा गाउँपालिकाको समग्र आर्थिक गतिविधिमा सहजता थपिने अपेक्षा गरिएको छ।


Read Previous

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेहरू भीड- तस्बिरहरू

Read Next

गच्छे-भालुबाङ सडक निर्माण तीव्र, १२० किलोमिटरको यात्रा ४७ किलोमिटरले छोटिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar