
काठमाडौं। विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट बाहिरिने पहिलो टोली बनेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। लोकेश बमले २७ बलमा ३३, इसुरु उदानाले १२ बलमा अविजित २५ र शेहान जयसूर्याले १४ बलमा अविजित १७ रन जोडे। इमरान शेखले १० रन बनाए।
पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षले १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो। पोखराका लागि युभराज साम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छक्कासहित ८४ रन बनाए। धनञ्जय लक्षनले २२ र सन्नी बिकेले १२ रन जोडे।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। रुपेश सिंह, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले समान १ विकेट लिए।
जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। यस जितले विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। विराटनगरले अब लुम्बिनी लायन्ससँग अन्तिम खेल खेल्नेछ।


