Nepal Purbadhar

९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाको आरसीओडी थपियो


काठमाडौं। लगानी बोर्डले ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति (आरसीओडी)थप गरेको छ। बैठकले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्यअनुसार काम अघि बढाउने निर्णय गरेको हो।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले अरुण-३ आयोजनाको व्यावसायिक उत्पादनसम्बन्धी समयसीमालाई अघि बढाउने निर्णय गरेको हो।

बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण पनि परियोजना विकास सम्झौताको प्रावधानअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।

यस अघि २७ वटा जलविद्युत आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपिएको थियो । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)को पहलपछि विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाएको थियो।

यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो । असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसीओडीको अवस्थालाई आधार मानेर वर्गीकरण गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको हो।
प्राधिकरणका अनुसार हाल ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन्। तीमध्ये समूह ‘क’ मा ४ हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना र समूह ‘ख’ मा १ हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना छन्। बाँकी आयोजना समूह ‘ग’ र ‘घ’ मा वर्गीकृत भएका छन्।


Read Previous

अर्धजलाशययुक्त नार खोला र सानी भेरी-३ को लगानी स्वीकृत, अरुण-३ र माथिल्लो कर्णाली उच्च प्राथमिकतामा

Read Next

मन्त्रिपरिषद्का निर्णय : विपद् जोखिम ऋणपत्रमा हस्ताक्षर गर्न स्वीकृति देखि खेलाडीलाई पुरस्कारसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar