Nepal Purbadhar

अर्धजलाशययुक्त नार खोला र सानी भेरी-३ को लगानी स्वीकृत, अरुण-३ र माथिल्लो कर्णाली उच्च प्राथमिकतामा


काठमाडौं, २३ असोज । लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका २ ओटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ। बोर्डले अरुण-३ को व्यावसायिक उत्पादन र माथिल्लो कर्णालीको निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनामा १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी-३ जलविद्युत् आयोजनामा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो।

नार खोला र सानी भेरी-३ दुवै अर्धजलाशययुक्त आयोजना हुन्। यस्ता आयोजनाले नदीको पानीलाई केही समय सञ्चित गरी आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सक्छन्। यी पूर्ण जलाशययुक्त आयोजना नभई नदी प्रवाहमा आधारित पिकिङ रन-अफ-रिभर प्रकृतिका आयोजना हुन्।

बैठकले ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्यअनुसार काम अघि बढाउने निर्णय गरेको छ। त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण परियोजना विकास सम्झौताअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।

बोर्डले स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। साथै, बोर्डले आह्वान नगरेका लगानी प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन कानुनी व्यवस्था गर्न निर्देशन दिएको छ।

कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्तावलाई नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदानका आधारमा प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ।


Read Previous

लगानी बोर्डको बैठक: १०५.६२ मेगावाटका दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

Read Next

९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाको आरसीओडी थपियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar