Nepal Purbadhar

चाइना ट्रेड सहकारीको निक्षेप ७५ करोड नाघ्यो, १९औँ साधारण सभाबाट वार्षिक प्रतिवेदन पारित


काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कुल निक्षेप संकलन ७५ करोड रुपैयाँ नाघेको छ । संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको निक्षेप ७५ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको संस्थामा हाल १ हजार ९७५ जना शेयर सदस्य आबद्ध छन् । संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ र कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौंको बबरमहलमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदनअनुसार २९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्था अहिले आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।

त्यस्तै, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामकीय निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाबाट विभिन्न प्रस्ताव पारित

साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम, अनुमानित बजेट र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सभाले संस्थाको नाममा रहेको सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनलगायत विषयमा विशेष प्रस्तावसमेत पारित गरेको छ ।

सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरणमा जोड

संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र सदस्यको क्षमता अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।

संस्थाको १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजनाअन्तर्गत बृहत् रक्तदान कार्यक्रम, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, शेयर सदस्यको सहभागितामा पदयात्रा तथा वार्षिक मनोरञ्जन र सहभोज कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यस्तै, मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन गराउने कार्यक्रम तथा साना तथा मझौला व्यवसायी सदस्यको व्यावसायिक प्रवर्द्धनका लागि ‘CHITCOL Digital Catalyst’ डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिवेशमा पनि संस्थाले सदस्य संख्या, शेयर पुँजी र बचतमा वृद्धि गर्न सफल भएको बताए । एनएफआरएस प्रणालीको कार्यान्वयन, नियामकीय अनुशासन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले देखाएको सक्रियता अन्य सहकारीका लागि अनुकरणीय रहेको उनको भनाइ थियो ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड बहुउद्देश्यीय सहकारी न्यूरोड क्षेत्रको स्थानीय विकास, उद्यमशीलता प्रवर्द्धन र समृद्धिको सहयात्रीका रूपमा स्थापित भएको बताए ।

सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले २०औँ वर्षको यात्रामा साथ र विश्वास प्रदान गर्ने शेयर सदस्य, नियामक निकाय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहप्रति आभार व्यक्त गरे ।

उनले आगामी दिनमा डिजिटल सेवालाई थप परिष्कृत गर्दै सदस्यकेन्द्रित कार्यक्रममार्फत ‘सदस्य समर्पित अग्रणी सहकारी’ बन्ने लक्ष्यसहित आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्यको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।


Read Previous

नेपाल श्रीलंका चेम्बरको अध्यक्षमा ऊर्जा उद्यमी नरेन्द्र पन्त निर्वाचित, कार्यसमितिमा को को छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar