
काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरू हुने भएको छ। महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
महासंघ स्थापनाको ३६ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गर्ने अवसरमा आयोजना हुन लागेको महाधिवेशन जेठ २४ र २५ गते सञ्चालन हुनेछ। महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका उद्यमीहरूको सहभागितासहित उद्योग क्षेत्रका समसामयिक विषयमा व्यापक छलफल हुने बताए।
उनका अनुसार महासंघले २०४७ सालदेखि लघु, घरेलु तथा साना उद्योगीको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीको नेतृत्व क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। हाल महासंघको सञ्जाल सातै प्रदेश, ७७ जिल्ला र ३०० भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको छ। त्यस्तै, केन्द्रीय महिला उद्यमी समिति अन्तर्गत सातै प्रदेश, ६२ जिल्ला र विभिन्न पालिकामा महिला उद्यमी समितिहरू सक्रिय छन्।
महासंघका अनुसार महाधिवेशनमा सातै प्रदेश र ७७ जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहनेछ। महासंघका उपाध्यक्ष शेभा गुरुङले महाधिवेशनले संगठन सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्ययोजना निर्धारण तथा लघु, घरेलु र साना उद्योग क्षेत्रका चुनौती र अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको बताए।
महाधिवेशनबाट महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ। महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारसम्बन्धी कार्यक्रम र योजनाहरू पनि तय गरिने जनाइएको छ। महाधिवेशन अवधिभर नेपाली उत्पादनहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ।
कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी पूरा गरिएको महासंघले जनाएको छ। महाधिवेशनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सहयोग अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डेलगायत पदाधिकारीको उपस्थिति रहेको थियो।

