
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, फाइल फोटो।
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा नागरिकको खोजी र उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरे पनि अपेक्षित सफलता हासिल हुन नसक्दा पीडित परिवारको चिन्ता र पीडा थपिएको बताएका छन्।
सोमबार साँझ रसुवागढी जलविद्युत् आयोजनाका सम्पर्कविहीन कर्मचारीका परिवारसँगको भेटमा मन्त्री श्रेष्ठले सरकार सबै नागरिकको अभिभावक भएकाले बिना भेदभाव खोजी तथा उद्धारमा जुटिरहेको बताए।
रसुवागढीको भौगोलिक जटिलता र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा चुनौती देखिएको उल्लेख गर्दै उनले अभियान भने नरोकिएको स्पष्ट पारे। उनका अनुसार हवाई तथा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरी आसपासका क्षेत्रमा खोजी भइरहेको छ। सुरुङ तथा विद्युत् गृहमा उपलब्ध उच्चतम प्रविधि र विज्ञको सहयोगमा समेत खोजी कार्य जारी राखिएको उनले बताए।
मन्त्री श्रेष्ठले आफ्ना प्रियजनको खबर नपाउँदाको पीडा परिवारका लागि गहिरो रहेको भन्दै सरकारलाई पनि आफ्ना दक्ष जनशक्ति तथा सहकर्मीको उत्तिकै चिन्ता रहेको बताए।
भेटका क्रममा उनले रसुवागढी हाइड्रोपावर कम्पनीका सञ्चालकलाई खोजी तथा उद्धारको प्रगतिबारे पीडित परिवारलाई नियमित, वस्तुनिष्ठ र समयमै सूचना उपलब्ध गराउन निर्देशन दिए।
सूचना तथा समन्वयमा हुने कमीले परिवारको पीडा थप बढाउन सक्ने भन्दै उनले यसतर्फ विशेष ध्यान दिन आग्रह गरे।
त्यस्तै, सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विपद्को समयमा नागरिकको खोजी तथा उद्धार गर्नु सरकारको दायित्व भएकाले आफ्नो कर्तव्यप्रति सरकार प्रतिबद्ध रहेको बताए।
कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ढकालले हालसम्म खोजी तथा उद्धारका क्रममा भएका प्रयासबारे पीडित परिवारलाई जानकारी गराएका थिए।

