Nepal Purbadhar

‘नामी भिगो ई२’ सार्वजनिक, ३५.९९ लाख मूल्य, के के छन् सुविधा?


काठमाडौं। नेपालमा डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ भेरियन्टको बिक्री सुरू गरेको हो।

कम्पनीले नामी भिगो ई२ को मूल्य नाडा अटो शो अवधिभरका लागि ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नाडा अटो शो सकिएपछि भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

यसअघि बजारमा उपलब्ध नामी भिगो ई२ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ र ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो। नयाँ भेरियन्टको मूल्य यसअघिको बेस भेरियन्टभन्दा ५ लाख रुपैयाँ सस्तो छ।

कम्पनीले मुनरुफ हटाएर नयाँ संस्करण बजारमा ल्याएको जनाएको छ। मुनरुफबाहेक अन्य प्रमुख फिचर भने यथावत् राखिएको कम्पनीको दाबी छ।

दुई ब्याट्री विकल्प, ३५० किलोमिटरसम्म रेन्ज

नामी भिगो एसयूभी ४४.९४ किलोवाट–आवर र ५१.८७ किलोवाट–आवर ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः ३०० किलोमिटर र ३५० किलोमिटरसम्मको WLTP रेन्ज प्रदान गर्छन्।

गाडीले १६७ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसले लामो दूरीको यात्रामा चार्जिङ समय घटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

भिगो एसयूभीमा तीन ड्राइभिङ मोड उपलब्ध छन्। चालकले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार इको, स्ट्यान्डर्ड र स्पोर्ट मोड छनोट गर्न सक्छन्। त्यस्तै, स्टेरिङमा क्लाम, स्ट्यान्डर्ड र कम्फर्ट गरी तीन मोड दिइएको छ।

१२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम

गाडीमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले दिइएको छ। ३६० डिग्री क्यामेराले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई सहयोग गर्छ।

भिगोमा न्याभ, रेस्ट र स्नो मोडमध्ये छनोट गरेर एसी सञ्चालन गर्न सकिने सुविधा छ। भ्वाइस कन्ट्रोलमार्फत कार तथा मोबाइलका विभिन्न फङ्सनलाई कमान्ड दिन सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, ५० वाटको वायरलेस चार्जर, वान–टच रियर सिट फोल्ड तथा अगाडिका दुई सिटलाई बेडका रूपमा प्रयोग गर्न सकिने सुविधा दिइएको छ।

प्रिमियम फिचरको लामो सूची

कम्पनीले नामी भिगोमा वेलकम तथा मेमोरी सिट, म्युजिकसँग कनेक्ट हुने एम्बियन्ट लाइट, ‘हेभन एन्ड अर्थ’ टेलगेट र थ्रीसी फास्ट चार्जिङलगायत फिचरलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरेको छ।

गाडीमा बाहिरी स्पिकरसमेत दिइएको छ। एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) लेभल–२, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी तथा चालकको सिटमा हिटेड र भेन्टिलेटेड सुविधा उपलब्ध छ।

वेलकम साउन्ड, १८ इन्चको ह्वील तथा स्वचालित रूपमा हाइ बीम र लो बीम छनोट गर्ने हेडलाइटले समेत गाडीलाई थप सुविधायुक्त बनाएको कम्पनीको भनाइ छ।

नामी भिगोमा यात्रु तथा सामान राख्नका लागि विभिन्न ३५ स्थानमा स्टोरेज स्पेस दिइएको छ। बाहिरी डिजाइनतर्फ टी–आकारमा सजाइएको एलईडी हेडलाम्प र ट्रायङ्गुलर पिक्सेल टेललाइटले गाडीलाई फरक पहिचान दिएको छ।

सुरक्षामा एडीएएसदेखि ६ एयरब्यागसम्म

सुरक्षातर्फ नामी भिगोमा ६ ओटा एयरब्यागसँगै एडीएएस र त्यसअन्तर्गतका विभिन्न सुरक्षा फिचर उपलब्ध छन्।

त्यस्तै, ३६० डिग्री क्यामेरा, अटो होल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा ट्र्याक्सन कन्ट्रोलजस्ता फिचर दिइएको छ। यी फिचरले विभिन्न सडक तथा ड्राइभिङ परिस्थितिमा चालकलाई थप सहयोग गर्ने कम्पनीको दाबी छ।

नयाँ नामी भिगो ई२ लाई मूल्य, रेन्ज र आधुनिक फिचरको संयोजनसहित नेपाली विद्युतीय सवारी बजारमा ल्याइएको हो। नाडा अटो शो अवधिमा ३५ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य कायम गरिएकाले यो मूल्य समूहमा ईभी खरिद गर्न चाहने ग्राहकका लागि नयाँ विकल्प थपिएको छ।

📸 तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


Read Previous

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्ने योजना

Read Next

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar