Nepal Purbadhar

बाढीपीडितको उद्धार र राहतका लागि कर्मचारी सञ्चय कोषले दियो २ करोड ५० लाख


काठमाडौं। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कर्मचारी सञ्चय कोषले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, प्रशासक विजयकुमार श्रेष्ठलगायत वरिष्ठ अधिकारीले २ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्को समयमा कर्मचारी सञ्चय कोषले गरेको सहयोगप्रति कोष परिवारलाई धन्यवाद दिए।

कोषका अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायत राष्ट्रिय सङ्कटका समयमा कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको बताए। सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरिएको उनले बताए।

कोषका प्रशासक श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए। आगामी दिनमा पनि विपद् तथा राष्ट्रिय सङ्कटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे।

कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षबाट सहयोग र सहकार्यको अपेक्षा गरेको छ।


Read Previous

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar