Nepal Purbadhar

भोटेकोशी बाढी अपडेट: १ हजार १२७ शव फेला, ४ हजार ८५८ जना अझै बेपत्ता

नारायणी किनारबाट शव संकलन गर्दै सुरक्षाकर्मी, फाईल तस्बीर।


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। बुधबार बिहान ५ बजेसम्मको प्रहरी विवरणअनुसार अझै ४ हजार ८ सय ५८ जना बेपत्ता छन्।

फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको शवजाँच मुचुल्का पूरा भइसकेको छ। हालसम्म ९५ ओटा शव आफन्तलाई बुझाइएको छ।

पहिचान हुन नसकेका ९११ ओटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। शवको पहिचान गरी आफन्तसम्म पुर्‍याउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालन गरिएको छ। प्रहरीले हालसम्म बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरेको जनाएको छ।

त्यस्तै, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय गरी बेपत्ताको खोजी गर्ने र सडकमा रहेका अवरोध हटाउने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।


Read Previous

रसुवागढीमा बेपत्ताको खोजी जारी, परिवारलाई नियमित सूचना दिन मन्त्री श्रेष्ठको निर्देशन

Read Next

नागढुंगा-नौबिसे सडक भासियो, पेट्रोलियम बोकेका गाडीलाई मात्रै आवागमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar