Nepal Purbadhar

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्ने योजना


काठमाडौं। धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका-५, धौवादीमा रहेको फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्ने योजनासहितको प्रतिवेदन तयार गरेको छ।

कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट उक्त परिमाणमा धाउ उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू-गर्भ विभागमा बुझाएको हो।

खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

कम्पनीका अनुसार योजना स्वीकृत भएपछि फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खननको काम अघि बढाइनेछ।

नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी १ हजार ५०० मिटर ड्रिलिङ सम्पन्न गरिएको छ।

हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको कम्पनीले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि छिट्टै सुरु गरिने कम्पनीको भनाइ छ।

खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले नेपालको समग्र मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए। उनका अनुसार खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्नेछ।

खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेको कम्पनीले जनाएको छ।


Read Previous

सुनको मूल्य एकैदिन ९ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

Read Next

‘नामी भिगो ई२’ सार्वजनिक, ३५.९९ लाख मूल्य, के के छन् सुविधा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar