
उद्धारमा खटिएका सुरक्षा निकायका सदस्यहरू।
काठमाडौं। भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेका विभिन्न मुलुकका ३२४ जना विदेशी नागरिकको उद्धार गरिएको छ। अझै ३९ देशका ५९० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको सरकारले जनाएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको जानकारी दिइयो। पछिल्लो विवरणअनुसार बाढी तथा त्यसपछिको विपद्मा एक हजारभन्दा बढीको शव फेला परिसकेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोग तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको छ।
विदेशस्थित नेपाली नियोगहरूले प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क, आवश्यकताअनुसार पहिचान तथा शव स्वदेश फिर्ताको प्रक्रियामा समेत सहजीकरण गरिरहेका छन्।
“हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ,” प्रवक्ता क्षेत्रीले भने।
भारत र चीनका सुरुङ उद्धार टोली परिचालन
नेपाल सरकारले अन्तर्राष्ट्रिय सहयोगसहित खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार भारतबाट २४ जना जनशक्ति सम्मिलित दुई ओटा र चीनबाट ९ जना जनशक्ति सम्मिलित विशेष सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजनामा परिचालन भएका छन्। गणतन्त्र कोरियाको एउटा टोलीसमेत नेपाल आएको छ।
भारतीय सुरुङ उद्धार टोलीले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी उद्धार कार्य गरिरहेको छ।
मृतकका शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरण नेपालमा प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ।
डीएनए परीक्षणमा विदेशी विशेषज्ञको सहयोग
शव पहिचानका लागि भारतको १९ सदस्यीय फरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीसँग सहकार्य गर्दै काम गरिरहेको छ।
प्रवक्ता क्षेत्रीका अनुसार चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलबार साँझ नेपाल आइपुग्दैछ। त्यस्तै, सिङ्गापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्ने विषयमा समेत समन्वय भइरहेको छ।
मन्त्रालयले ‘लाइडर’, बेलिब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, लोड क्यारियर, मानव अवशेष राख्ने झोला, उच्च क्षमताका ड्रोन तथा जीन सिक्वेन्सरलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरेको जनाएको छ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
नेपाल सरकारले तत्काल नागरिकको जीवन बचाउने, सम्पर्कविहीनको खोजी गर्ने, जीवित व्यक्तिलाई सहयोग गर्ने तथा प्रभावित समुदायलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
खोजी, उद्धार, स्थानान्तरण तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन भएका छन्।
मन्त्रालयका अनुसार उद्धार तथा राहत कार्यका लागि आवश्यक दक्षता, उपकरण तथा स्रोतसाधन पहिचान र परिचालन गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय भइरहेको छ।
