
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्ने उपलब्धिलाई समेटेर कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेका छन्।
कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य काम तथा उपलब्धिलाई समेटिएको छ। सम्झौतामार्फत चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र लक्ष्यअनुसार काम गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।
सरकारले कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय तथा सरकारी निकायका कामलाई परिणाममुखी बनाउने र तोकिएका लक्ष्यअनुसार प्रगति हासिल गर्ने उद्देश्य राखेको जनाएको छ।
