
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ गोरखा-१ का जलविद्युत् व्यवसायीको टोलीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन्। गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि सहजीकरण खोज्दै उनी व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका अधिकारीले जलविद्युत् व्यवसायीका समस्या सुनेका थिए। व्यवसायीहरूले उत्पादनको तयारीमा रहेका आयोजनाका लागि प्रसारण लाइन विस्तारदेखि विभिन्न व्यवस्थापकीय समस्याबारे मन्त्रीसमक्ष जानकारी गराएका थिए।
गृहमन्त्री गुरुङले गोरखा जिल्लाका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको काममा देखिएका समस्या समाधानका लागि ऊर्जामन्त्री श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणलाई सहजीकरण गरिदिन आग्रह गरे।
उनले जलविद्युत् व्यवसायीले सामाजिक उत्तरदायित्व (सीएसआर) मा पारदर्शिता कायम गर्नुपर्ने, राजनीतिभन्दा व्यवसायमा केन्द्रित हुनुपर्ने र जलविद्युत् आयोजनाबाट स्थानीय जनताले सुविधा पाउनुपर्ने बताए।
सरकारका तर्फबाट आवश्यक सहजीकरण हुने र प्राधिकरणले आयोजनाका बाधा फुकाउन पहल गर्ने भन्दै गृहमन्त्री गुरुङले व्यवसायीलाई राजनीति नगरी काम गर्न आग्रह गरे।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिए।
गोरखामा बूढीगण्डकीसहित १० भन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। ती आयोजनाको निर्माणका क्रममा देखिएका समस्या लिएर गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले पनि जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। प्रसारण लाइनसम्बन्धी समस्या समाधानका लागि आवश्यक स्रोत जुटाउने विषयमा गृहकार्य भइरहेको उनले बताए।
