Nepal Purbadhar

गुगलको निर्भरता घटाउँदै युरोपेली देश, संसदहरूले फ्रान्सेली सर्च इन्जिन क्वान्ट प्रयोग गर्ने


ब्रसेल्स। युरोपेली संसदले अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउने र स्थानीय विकल्पलाई प्राथमिकता दिने रणनीतिअन्तर्गत गुगलको सट्टा फ्रान्सेली सर्च इन्जिन क्वान्ट (Qwant) प्रयोग गर्ने भएको छ।

बुधबार संसदले जारी गरेको वक्तव्यमा युरोपले अमेरिकी प्रविधिमा निर्भरता कम गर्दै युरोपमै विकसित वैकल्पिक सेवाहरूलाई प्रवर्द्धन गर्ने प्रयासलाई यस निर्णयले थप बल प्रदान गर्ने उल्लेख गरिएको छ।

युरोपेली आयोगले पनि बुधबार नै “युरोपेली उत्पादन किनौँ र प्रयोग गरौँ” (बाई एन्ड युज युरोपियन) अभियानअन्तर्गत चिप निर्माण, क्लाउड कम्प्युटिङ सेवा तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ नीतिगत उपायहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

संसदका प्रवक्ताले इमेलमार्फत जानकारी दिँदै भने, “सन् २०२६ जुन ४ देखि क्वान्ट युरोपेली संसदमा प्रयोग हुने माइक्रोसफ्ट एज र मोजिल्ला फायरफक्स ब्राउजरहरूको पूर्वनिर्धारित (डिफल्ट) सर्च इन्जिन बन्नेछ।”

यो परिवर्तन स्वचालित रूपमा लागू गरिनेछ। तथापि, प्रयोगकर्ताहरूले चाहेमा अन्य सर्च इन्जिन पनि छनोट गर्न सक्नेछन्।

यो युरोपेली संसदको गैर–युरोपेली डिजिटल उपकरणमाथिको निर्भरता कम गर्ने र युरोपमै आधारित गोपनीयतामैत्री सेवाहरूको प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएका व्यापक पहलहरूको हिस्सा भएको बताईएको छ।

युरोपेली संसदमा ७२० सांसद रहेका छन् भने उनीहरूका हजारौं सहयोगी तथा प्रशासनिक कर्मचारी कार्यरत छन्।


Read Previous

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुरू

Read Next

एआई चिपको माग बढ्दो: टीएसएमसीको व्यवसाय चम्किँदा रेकर्ड आम्दानी गरेको ब्रोडकमको शेयरमा गिरावट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar