
बागलुङमा ग्यासको पर्खाईमा लाइन बसेका उपभोक्ता, तस्बीर: नेपाल फोटो लाइब्रेरी
काठमाडौं। देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको ग्यास आयात तथा बिक्री-वितरणसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बजारमा आपूर्ति नियमित रहेको जनाएको छ।
निगमले भदौ ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा १४.२ केजीका एलपी ग्यास सिलिन्डरको बिक्री-वितरण नियमित रहेको स्पष्ट पारेको छ। निगमको तथ्यांकअनुसार पछिल्लो समय ग्यासको आयात तथा बजारमा बिक्री-वितरण झनै बढेको देखिएको छ।
निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा गएको थियो।
त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ।
यसरी पछिल्लो पाँच महिनामध्ये श्रावणमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ। श्रावणमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको छ।
निगमका अनुसार श्रावणमा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा गएको छ। अघिल्लो महिनाको तुलनामा श्रावणमा करिब ९ लाख सिलिन्डर बढी बिक्री-वितरण भएको निगमको तथ्यांकमा उल्लेख छ।
निगमले आगामी दिनमा समेत एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित रहने जनाएको छ। त्यसैले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।
ग्यासको आपूर्ति नियमित रहे पनि अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको भनाइ छ। निगमले उपलब्ध तथ्यांकलाई आधार बनाएर संयमित हुन र आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो।
निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको भन्दा पनि पछिल्लो महिनामा आयात तथा बिक्री-वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ।
