Nepal Purbadhar

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुरू


काठमाडौं । जर्मन सरकारको सहयोगमा धुलिखेलमा स्वास्थ्य सेवा, खानेपानी आपूर्ति तथा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजना औपचारिक रूपमा शुरू भएका छन्।

नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, नेपालस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले मंगलबार संयुक्त रूपमा परियोजनाहरूको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफडब्ल्यु विकास बैंक र जिआईजेड नेपालका प्रतिनिधिका साथै नेपाल सरकारका उच्च अधिकारी, धुलिखेल अस्पतालका पदाधिकारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

यस क्रममा धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र राजदूत भोल्जले संयुक्त रूपमा उद्घाटन गरे। सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दा, धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयलाई सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ।

गत वर्षको बाढी तथा पहिरोका कारण क्षति पुगेको प्रणालीको पुनर्निर्माणका लागि जर्मन सरकारले एक लाख २० हजार युरो आर्थिक सहयोग उपलब्ध गराएको थियो।

त्यसैगरी, धुलिखेल अस्पतालमा अटोक्लेभसहितको आधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन उपचार केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। अस्पतालमा वातावरणमैत्री फोहर व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमार्फत फोहरको वर्गीकरण, सङ्कलन, उपचार र सुरक्षित निस्तारणलाई प्रभावकारी बनाइने जनाइएको छ।

जिआईजेडको सहयोगमा अस्पतालमा गत पुसदेखि स्वास्थ्यजन्य फोहर व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको छ।

कार्यक्रमकै अवसरमा केएफडब्ल्यु विकास बैंकमार्फत जर्मन सरकारको सहयोगमा धुलिखेल अस्पतालमा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान परियोजनाको पनि शुभारम्भ गरिएको छ।

परियोजना सम्पन्न भएपछि अस्पतालका आपत्कालीन सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला लगायतका अत्यावश्यक सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ। उक्त सौर्य प्रणालीबाट वार्षिक ७७८ मेगावाट घण्टा विद्युत् उत्पादन हुने र अस्पतालको ऊर्जा खर्चमा करिब ९५ लाख रुपैयाँ वार्षिक बचत हुने अनुमान गरिएको छ।

कार्यक्रममा जर्मन पक्षले स्वास्थ्य, नवीकरणीय ऊर्जा तथा दिगो आर्थिक विकासका क्षेत्रमा नेपालसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। जर्मनीले केएफडब्ल्यु र जिआईजेडमार्फत नेपालको समावेशी, जलवायु उत्थानशील तथा दिगो विकास प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ।


Read Previous

ऊर्जा सङ्कट र मध्यपूर्व तनावबीच जापानको १९.५ अर्ब डलरको राहत प्याकेज, नवीकरणीय ऊर्जामा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar