Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी ३ महिनाभित्र केबलकार चढ्न पाइने भएको छ ।

निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले जानकारी दिए ।

यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित १ हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो ।

यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब ४ सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।

मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन हुनेछ ।

उनका अनुसार हेलिप्याड भएको ठाउँमा टपस्टेशन निर्माण गरे पनि हेलिप्याडसमेत निर्माण हुनेछ । टपस्टेशनको माथि होटल र त्यो भन्दामाथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ । यसका लागि छ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ ।

केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्नेछन । अहिले मन्दिर पुग्न १ हजार ८८२ खुड्किलो उक्लिँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ ।

कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रियाको कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ ।


Read Previous

आन्तरिक उत्पादन अपुग भएपछि आयात हुन थाल्यो भारतीय विद्युत

Read Next

मनकामना बजार डिजिटल बनाउने अभियान सुरु

Leave a Reply

Your email address will not be published.