Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

अन्धगल्छी,रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग तयार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएकाे छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो ।

रुप्से झरनाको शिरको डाँडामा  वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ पनि बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए ।  मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए ।

रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि सरकारको अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो । अनुदानबाहेक थप २ लाख १९ हजार ४ सय ७८ रुपैयाँ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए ।

काभ्रे गाउँको बेनी–जोमसोम सडकबाट रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिँढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४ सय मिटर लामाे रेलिङ राखिएको छ ।

पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गासम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।

अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चार्यजनक छ ।

छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँबाट ३० मिनेट पैदल हिँडेपछि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समिपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए ।

धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजिकको दूरीमा छन् । तीनवटै पर्यटकीयस्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमूलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताए ।


Read Previous

देशभरका २९३ नगरपालिकाबाट वार्षिक १० लाख टन फोहोर उत्पादन, ३९ प्रतिशत मात्र ल्याण्डफिल साइटमा व्यवस्थापन

Read Next

विद्युत पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको आग्रह, व्यवस्थापन नगरिए हटाइने तयारी