Nepal Purbadhar

झोलुङ्गे पुल भत्किएपछि दोधारा चाँदनीका होटल व्यवसाय सुनसान


महेन्द्रनगर। महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्काएपछि त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका छन्। पुल बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घट्दा पुल वारिपारिका व्यवसायी समस्यामा परेका छन्।

गत असोज दोस्रो साता आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्काएपछि आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। दसैँ-तिहारमा दैनिक २ हजारदेखि ३ हजारसम्म पर्यटक आउने क्षेत्रमा अहिले चहलपहल घटेको स्थानीय व्यवसायी बताउँछन्।

होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार यसअघि दैनिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरे पनि पुल बन्द भएपछि व्यापार ठप्प भएको छ। चाडपर्व र हिउँदको शैक्षिक भ्रमणको समयमा हुने पर्यटक आवागमन घट्दा व्यवसायीको आम्दानीमा ठूलो असर परेको छ।

प्राविधिक टोलीले पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने अनुमान गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पुनर्निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल आवागमनको माध्यम मात्र नभई जिल्लाको प्रमुख पर्यटकीय आकर्षणसमेत भएकाले पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताए।


Read Previous

विराटनगर चार विकेटले विजयी हुँदा पोखरा एनपीएल तेस्रो संस्करणको प्रतिस्पर्धाबाट बाहिरियो

Read Next

मुन्दु-सेरा जोड्न २५० मिटर लामो झोलुङ्गे पुल बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar