
सर्वोच्च अदालत, फाइल तस्बीर।
काठमाडौं। सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालतका एक मुख्य न्यायाधीश र तीन न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी नियुक्त भएका छन्।
न्याय परिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।


