Nepal Purbadhar

संकटबाट सुदूरपश्चिमलाई उकास्दै दीपेन्द्रको अर्धशतक, काठमाडौंलाई १२६ रनको लक्ष्य


काठमाडौं। कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा धरमराएको सुदूरपश्चिमको इनिङ्स दीपेन्द्रले सम्हालेका थिए। पहिलो पावरप्लेमा ४ विकेट गुमाएर २१ रनमा सीमित भएको सुदूरपश्चिमले ८ रनमै ४ विकेट गुमाएको थियो।

स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा इशान पाण्डे र ब्रान्डन म्याकमुलनले खाता खोल्न सकेनन्।

दोस्रो ओभरमा क्रिजमा आएका कप्तान दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए।

दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको साझेदारी गरे। आरिफले २५ बलमा १६ रन बनाए। त्यस्तै, छैटौँ विकेटका लागि थरिन्दु रत्नायकेसँग पनि ५४ रनको साझेदारी गरे। थरिन्दु २३ बलमा ३ चौकासहित २६ रन बनाएर अविजित रहे।

काठमाडौंका लागि जहानदाद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। उनले एक ओभर मेडनसमेत राखे। सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट लिए।

आजको खेल जित्ने टोली प्लेअफमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण रहेको छ।


Read Previous

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

Read Next

उत्तरी गोरखाको नयाँ पर्यटकीय आकर्षण बन्दै ५५ मिटर अग्लो न्याउली झरना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar