Nepal Purbadhar

डिजिटल रूपान्तरणमा सहकार्य बढाउन कतार, इस्टोनियासहित विभिन्न देशसँग नेपालको छलफल


काठमाडौं। डिजिटल रूपान्तरण, सूचना प्रविधिको पहुँच विस्तार र दूरसञ्चार क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने विषयमा नेपालले कतार, इस्टोनियासहित विभिन्न देशसँग छलफल गरेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रविधि क्षेत्रमा सहकार्य र साझेदारीका सम्भावनाबारे छलफल गरेका हुन्।

मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाई र इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा सूचना तथा सञ्चार प्रविधि, दूरसञ्चार सेवा विस्तार र डिजिटल रूपान्तरणका क्षेत्रमा दुवै देशबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको नेपाली राजदूतावास, दोहाले जनाएको छ।

कतारका समकक्षीसँगको भेटमा मन्त्री तिमिल्सिनाले नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध तथा दीर्घकालीन सहकार्यको चर्चा गर्दै सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गरेको नेपालको राजकीय भ्रमण स्मरण गरेका थिए। नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव नजिकिँदै गरेकोमा उनले खुसी व्यक्त गरे।

नेपालको भौगोलिक विविधताका कारण दूरसञ्चार सेवाको महत्त्व अझ बढी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा कतारले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए। साथै, गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारप्रति आभार व्यक्त गरेका थिए।

त्यसैगरी, इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्रीसँगको भेटमा मन्त्री तिमिल्सिनाले प्रविधि विकास र डिजिटल रूपान्तरणका क्षेत्रमा इस्टोनियाले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने बताए। दुवै पक्षले दूरसञ्चारसहित सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अनुभव आदानप्रदान र सहकार्य विस्तारका सम्भावनाबारे विचारविमर्श गरेका थिए।

महासम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा मन्त्री तिमिल्सिनाले आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताए। उनले डिजिटल विभाजन कम गर्ने, उदीयमान प्रविधिको पहुँच विस्तार गर्ने र विकासशील राष्ट्रमा प्रविधिको प्रयोग बढाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राखेको जानकारी दिए।

उनका अनुसार सम्मेलनका क्रममा मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटवार्ता भएको थियो। ती भेटमा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य र साझेदारीका विषयमा छलफल गरिएको थियो।

मन्त्री तिमिल्सिनाले विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि प्रविधि, लगानी, कम्प्युटिङ क्षमता र दक्ष जनशक्तिमा असमान पहुँचका कारण विकासोन्मुख तथा अल्पविकसित मुलुक पछाडि पर्ने जोखिम रहेको बताए। कृत्रिम बौद्धिकता (एआई), फाइभजी र अन्य उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उनको भनाइ थियो।

डिजिटल रूपान्तरणको लाभ सबै देश र समुदायसम्म समान रूपमा पुर्‍याउन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको विषयमा पनि नेपालले जोड दिएको उनले बताए। प्रविधिको पहुँच विस्तार हुँदै जानुपर्ने भए पनि विभिन्न कारणले कतिपय क्षेत्रमा पहुँच खुम्चिँदै गएको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखे।

सम्मेलनमा बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार प्रणालीलाई निर्वाध रूपमा सञ्चालन गर्ने विषयले पनि प्राथमिकता पाएको थियो। नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्का समयमा सूचना तथा सञ्चार प्रणालीको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गर्दै सञ्चार पूर्वाधारलाई विपद् प्रतिरोधी र भरपर्दो बनाउनुपर्नेमा जोड दिएका थिए।

आइटियु दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय नीति, मापदण्ड र सहकार्य अघि बढाउने संयुक्त राष्ट्रसङ्घीय विशेषीकृत निकाय हो। यसका १९४ सदस्य राष्ट्र छन्। सन् २०२६ को महासम्मेलनले विश्वव्यापी दूरसञ्चार तथा डिजिटल विकासका विषयमा सदस्य राष्ट्रबीच नीति र सहकार्यका लागि महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।


Read Previous

मुन्दु-सेरा जोड्न २५० मिटर लामो झोलुङ्गे पुल बन्ने

Read Next

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar