Nepal Purbadhar

स्वीकृतिबिनै शुल्क बढाए कारबाही गर्ने प्राधिकरणको चेतावनी


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने विषयमा कुनै प्रस्ताव नआएको र शुल्क बढाउन कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।

इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त नभएको जनाएको हो ।

प्राधिकरणले स्वीकृत दररेटभन्दा बढी शुल्क लिने, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्ने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिव हुनुपर्छ । अनुमतिपत्र प्राप्त सेवा प्रदायकले शुल्क निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिकाको आधारमा दररेट तयार गर्नुपर्ने व्यवस्था छ ।

त्यसरी निर्धारण गरिएको शुल्क लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट स्वीकृत शुल्क दररेट सार्वजनिक रूपमा प्रकाशन गर्नु पनि सेवा प्रदायकको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले स्वीकृत दररेटभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा सम्बन्धित उपभोक्तालाई प्राधिकरणमा गुनासो गर्न आग्रह गरेको छ ।

उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउने प्रतिबद्धता पनि प्राधिकरणले व्यक्त गरेको छ ।

प्राधिकरणका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सेवा प्रदायक तथा सरोकारवालालाई स्वीकृत शुल्कसम्बन्धी व्यवस्था पालना गर्न र उपभोक्तालाई अनधिकृत रूपमा अतिरिक्त शुल्क नलिन सचेत गराइएको छ ।


Read Previous

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गर्न टेलिकमलाई २ अर्ब १ करोड अनुदान

Read Next

पृथ्वी, कालीगण्डकी करिडोर, कान्तिलोकपथ लगायतका मार्ग अवरुद्ध, बीपी राजमार्ग पूर्ण बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar