
फाईल फोटो।
काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्ने र नदीले सडक कटान गर्ने क्रम बढेपछि विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । धादिङको पृथ्वी राजमार्ग, गुल्मीको कालीगण्डकी करिडोर, ललितपुरको कान्तिलोकपथ र काभ्रेको बीपी राजमार्गमा यातायात प्रभावित भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका-५ गलौंदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा यातायात पूर्ण रूपमा बन्द भएको छ । ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैबीच, काभ्रेमा पर्ने बीपी राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । रोशी गाउँपालिका-९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । तर, निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको उनले बताए ।
राजमार्गका अन्य स्थानमा समेत अवरोध हुन सक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
लगातारको वर्षाले सडक यातायात प्रभावित भइरहेकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

