Nepal Purbadhar

करदाता प्रोत्साहन कार्यक्रम : बिल लिनेलाई मात्र होईन बिल दिनेलाई पनि नगद पुरस्कार


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधन गरी विक्रेता व्यवसायीलाई समेत प्रोत्साहन पुरस्कार दिने प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।

सरकारले चालु आर्थिक वर्षदेखि वस्तु तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बिल लिने संस्कार विकास गर्न र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्न सहयोग गरेको देखिएपछि विक्रेतालाई पनि प्रोत्साहन गर्नुपर्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन् ।

बिल लिने संस्कार विकास हुँदै गए पनि कतिपय व्यापारीले बिल जारी गर्न हिचकिचाएको गुनासो आएको भन्दै उनले बिल जारी गर्ने व्यवसायीलाई समेत प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

“बिल लिनुपर्छ भन्ने त व्यापक देखियो । तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,” उनले भने, “कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस् । कति रकम कसरी दिन सकिन्छ, जसले उहाँहरूलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।”

बिल लिने र दिने दुवै संस्कारको विकास भएमा औपचारिक अर्थतन्त्र विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय : विपद् जोखिम ऋणपत्रमा हस्ताक्षर गर्न स्वीकृति देखि खेलाडीलाई पुरस्कारसम्म

Read Next

धादिङको गलौँदीमा सडक चिराचिरा पर्दै भासियो, मुग्लिन-काठमाडौं सडक ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar