Nepal Purbadhar

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर।


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।

मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ आज (शुक्रबार) दिउँसो कोशी प्रदेशको राजधानी विराटनगर जाँदै छन्। टोलीले पूर्वमा विद्यमान विद्युत समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ । यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरुको अवस्थाको पनि स्थलगत अवलोकन गरेर आवश्यक सुधारका लागि रणनीति बनाइने मन्त्रीको सचिवालयले जनाएको छ।

ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् ।

यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदैछन् ।

मन्त्रीको सचिवालयकाअनुसार तीन दिने भ्रमणका क्रममा इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसनको अवलोकन गरिनेछ । यसैगरी बराहक्षेत्र चतहराको नहरको साइट भिजिट गरिनेछ । यसैगरी नेपालको विरासत बोकेको चन्द्र नहरको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश पुगेर त्यहाँका समस्या प्रत्यक्षरुपमै बुझेका थिए ।


Read Previous

पीपीए खोल्ने तयारीमा सरकार , मापदण्ड ७ दिनभित्र तयार गर्न प्राधिकरणले बनायो उपसमिति

Read Next

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक ! (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar