Nepal Purbadhar

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक ! (तस्बिर)


चितवन। नेपालको मेडिकल हबका रूपमा चिनिने चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल सेवा प्रवाहका हिसाबले देशकै उत्कृष्ट संघीय अस्पताल बनेको छ। तर, अस्पतालको मुख्य प्रवेशमार्गकै सडकको अवस्था भने ‘बिरामी’ जस्तै बनेको छ।

देशभरका १४ ओटा संघीय अस्पतालमध्ये न्यूनतम सेवा प्रवाह मापदण्डका आधारमा भरतपुर अस्पताल पहिलो स्थानमा परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा गत असारमा सार्वजनिक नतिजाअनुसार भरतपुर अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको थियो।

दैनिक करिब ३ हजारसम्म बिरामी पुग्ने अस्पतालअघिको सडक भने लामो समयदेखि खाल्डाखुल्डी र उबडखाबड अवस्थामा छ। सडकको दुरावस्थाका कारण बिरामी, स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा स्थानीयले दैनिक सास्ती खेप्नुपरेको छ।

खैरहनी नगरपालिका–५ बाट बिरामी लिएर भरतपुर अस्पताल आएकी गीता चौधरीले एम्बुलेन्स तथा अन्य सवारीसाधनमा बिरामी ल्याउँदा सडकको अवस्थाले निकै समस्या हुने बताइन्। विशेषगरी अपरेसन गरेका बिरामीलाई सडकको उबडखाबडले थप कष्ट हुने उनको भनाइ छ।

अटो चालक मनबहादुर बस्नेतका अनुसार सडक निकै खराब भएकाले बिरामीहरू सवारीसाधनभित्रै कराउने अवस्था आउने गरेको छ। सडकमा अटो नियन्त्रण गर्न चालकलाई समेत कठिन हुने उनले बताए।

लोकसेवा तयारी गरिरहेका विद्यार्थी धीरजकुमार पटेलले सडक समतल नहुँदा साइकल चलाउँदा शरीर पूरै थर्किने र साइकलको टायर तथा रिङमा समेत क्षति पुग्ने गरेको गुनासो गरे।

लामो समयदेखि सडक भत्काएर छाडिएको भन्दै स्थानीयहरू निर्माणको गति सुस्त भएकोमा आक्रोशित छन्। उनीहरूका अनुसार सडकमा कहिलेकाहीँ मात्र कामदार देखिन्छन् र निर्माणले अपेक्षित गति लिन सकेको छैन।

सडक निर्माणमा भइरहेको ढिलाइबारे भरतपुर महानगरपालिकाका सिभिल इन्जिनियर रबिन धितालले केही प्राविधिक जटिलताका कारण समय लागेको बताए। नाली निर्माणको काम जमिनमुनि हुने भएकाले जटिल भएको तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पनि केही समय काम प्रभावित भएको उनले जानकारी दिए।

उनका अनुसार हालसम्म नाली निर्माणको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। अब फुटपाथ निर्माणको कामलाई तीव्रता दिइनेछ।

करिब २ करोड रुपैयाँ लागतमा सप्तगण्डकी कँडेल कन्स्ट्रक्सन कम्पनीले सडक निर्माणको काम गरिरहेको छ। आगामी दुई महिनाभित्र फुटपाथको काम सम्पन्न गर्ने र असोजसम्म सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको इन्जिनियर धितालले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, विद्यालय तथा विभिन्न सरकारी कार्यालय जाने मुख्य सडक भएकाले यसको दुरावस्थाबाट दैनिक हजारौँ मानिस प्रभावित भइरहेका छन्।

अस्पतालको ढोकैअघिको केही मिटर सडकखण्डको अवस्थाले स्वास्थ्य सेवा प्रवाहको उत्कृष्टता र पूर्वाधार व्यवस्थापनबीचको विरोधाभास देखाएको छ।

खाल्डाखुल्डी र उबडखाबडका कारण अस्पताल आउने बिरामी, चिकित्सक, नर्स, कर्मचारी, सेवाग्राही तथा स्थानीयले दैनिक सास्ती खेप्नुपरेको छ। धुलोका कारण पैदलयात्री मुख छोपेर हिँड्न बाध्य छन्।

त्यसैगरी ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै सडकभर पानी जम्मा हुने गरेको छ। यसले पैदलयात्रु मात्र नभई सवारीसाधनलाई समेत आवतजावतमा समस्या हुने गरेको छ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

Read Next

रातमा झलमल्ल बालकुमारी–बल्खु सडकको ‘बर्ड–भ्यू’ (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar