
काठमाडौं। नेवार समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व म्हःपूजा विधिपूर्वक मनाएका छन्। नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन्।
नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ। त्यसैले म्हःपूजालाई शरीरको पूजा अर्थात् आत्मपूजाका रूपमा लिइन्छ। यस पर्वमा आफूभित्रको नकारात्मक ऊर्जा हटोस्, नयाँ ऊर्जा प्राप्त होस् र आगामी दिनमा शुद्ध मनले सकारात्मक काम गर्न सकियोस् भन्ने कामना गरिन्छ।

म्हःपूजाका क्रममा पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल (म्हःमण्डप) बनाइन्छ। त्यसमा पानी र तेलका चक्र बनाउनुका साथै चामल, कालो मास, भटमास, धान, लावा, फूललगायत सामग्री राखेर पूजा गर्ने परम्परा छ। अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्तीसमेत बाल्ने गरिन्छ।
यस वर्ष काठमाडौं महानगरपालिका-२८ मा सामूहिक रूपमा म्हःपूजा आयोजना गरिएको छ। आयोजक किरण चित्रकारको पहलमा गरिएको सामूहिक पूजामा स्थानीयवासीका साथै घरमा म्हःपूजा गर्न नपाएका व्यक्तिहरू सहभागी भएका थिए।

सामूहिक पूजामा सहभागी प्रकाश चित्रकारका अनुसार पछिल्लो समय रोजगारी तथा अध्ययनका लागि परिवारका सदस्य विदेशिने क्रम बढेसँगै घरमा चाडपर्व मनाउने र परम्परागत विधि पूरा गर्ने जनशक्तिको अभाव हुन थालेको छ। म्हःपूजाको विधि लामो र केही जटिल भएकाले पनि कतिपयले चाहेर पनि पूजा गर्न नसक्ने अवस्था रहेको उनले बताए।

यही अवस्थालाई ध्यानमा राखेर आयोजक किरण चित्रकारले चार-पाँच वर्षअघिदेखि सामूहिक म्हःपूजाको प्रयास गर्दै आएको र यस वर्ष त्यसले मूर्त रूप लिएको प्रकाश चित्रकारले जानकारी दिए। सामूहिक पूजाले आफ्नो संस्कृति र परम्पराबाट टाढिन थालेका व्यक्तिलाई समेत जोड्न सहयोग पुग्ने उनको भनाइ छ।

उनले म्हःपूजालाई शरीरको पूजा मात्र नभई वर्षभरि आफूले गरेका कामको आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। जानेर वा नजानेर भएका गल्तीप्रति क्षमायाचना गर्दै आगामी दिनमा कसैलाई हानि नपुर्याउने र सकारात्मक सोचका साथ अघि बढ्ने सङ्कल्प गर्नु नै म्हःपूजाको मूल भावना रहेको उनले उल्लेख गरे।
नेपाल संवत्को नयाँ वर्षसँगै मनाइने म्हःपूजा नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको पर्व हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यतासँग जोडिएको यस पर्वले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देश दिने विश्वास गरिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


