Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

६४ मेगावाट विद्युत खेर जान नदिने प्राधिकरणको प्रतिबद्धता, दोर्दी कोरिडोर बैशाखभित्र सम्पन गरिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत खेर जान नदिन प्रसारण लाइन चाँडै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१ र २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको निर्मण अन्तिम चरणमा पुगिसकेकाले प्रसारण लाइन चाँडो  सम्पन्न गरी विद्युत जोड्ने प्रतिबद्धता जनाएको हो ।

दोर्दी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रणालीमा ल्याउन निर्माणाधीन प्रसारण लाइनको बाढीले क्षतिग्रस्त टावरको पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन प्राधिकरण लागिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले प्राधिकरणले अहिले क्षतिग्रस्त प्रसारण लाइनको नयाँ टावर निर्माण गरिरहेको बताए ।

प्रसारण लाइनको ४ मध्ये २ वटा टावरको जग खनिएको छ । एउटा टावर खडा गरिएको छ । २ वटा टावरको जग खन्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनको पुनर्निर्माण बैशाखभित्र सम्पन्न गर्ने प्राधिकरणको तालिका छ । अहिले ठेकेदार कम्पनीले कामदारको संख्या बढाएर प्रसारण लाइनको कामलाई तीव्र पारेको छ ।

घिसिङ नेतृत्वको टोलीले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना तथा ती आयोजनाको विद्युत प्रवाह गर्न निर्माणाधीन प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरी प्रगति विवरण लिएको छ । घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरी विवरण लिएको हो ।

टोलीले गत वर्षको बर्खामा आएको बाढीका कारण क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन तथा न्यादी हाइड्रोपावरले निर्माण गरेको ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरले निर्माण गरेको दोर्दीखोला, लिवर्टी इनर्जीले निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको १२ मेगावाटको दोर्दी-१ आयोजनाको सम्पूर्ण विवरण लिएको छ । घिसिङले निर्माणाधीन जलविद्युत आयोजना चाँडो भन्दा चाँडो सम्पन्न गर्न आग्रह गर्दै विद्युत खेर जाने अवस्था आउन नदिने बताए ।

प्राधिकरणले दोर्दी कोरिडोरको विद्युत जोडिने ११ किलोमिटर लामो कीर्तिपुर-उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन र कीर्तिपुरमा सबस्टेसन गत वर्ष नै निर्माण सम्पन्न गरेको थियो । तर, गत बर्खाको बाढीले प्रसारण लाइनको ३३ मध्ये ४ वटा टावर बगाएकाले त्यसको पुनर्निर्माण गर्नु परेपछि सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको हो ।

प्रसारण लाइनको नयाँ टावर निर्माण गर्न जग्गा अधिग्रहणदेखि उपकरण खरिद तथा आयातसम्मको सम्पूर्ण प्रक्रिया दोहोर्याउनु पर्दा प्रसारण लाइन सम्पन्न गर्न समय लागेको प्राधिकरणले बताउँदै आएको छ । बाढीले प्रसारण लाइनसँगै दोर्दी कोरिडोरमा निर्माणाधीन अधिकांश जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्याएको थियो । केही प्रवर्द्धक कम्पनीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेका छन् । केहीको पुनर्निर्माण अन्तिम चरणमा छ ।

‘प्रसारण लाइन त गत वर्ष नै सम्पन्न भइसकेको हो । बाढीले संरचना बगाएपछि पुनर्निर्माण गर्न समय लागेकाले अहिलेसम्म काम भइरहेको हो,’ घिसिङले भने,‘बाढीको मारमा दोर्दी कोरिडोरका जलविद्युत आयोजना पनि परे । यी आयोजना सम्पन्न हुँदासम्म प्रसारण लाइन पनि तयार भइसक्छ ।’ उनले दोर्दी कोरिडोरका आयोजना सञ्चालनमा आउन अझै २ महिना लाग्ने देखिएकाले त्यसअघि नै प्रसारण लाइन तयार भइसक्ने हुँदा विद्युत खेर नजाने दाबी गरे ।

प्राधिकरण र प्रवर्द्धक कम्पनीले एकले अर्कोलाई आरोप लगाउनुभन्दा बाँकी काम सम्पन्न सहयोग गर्नुपर्नेमा जोड दिए । प्रसारण लाइन तयार भइसकेको छैन भन्ने बहानामा जलविद्युत आयोजनाको काममा ढिलाइ नगर्न समेत घिसिङले आग्रह गरे ।

घिसिङका अनुसार निरीक्षणका क्रममा दोर्दी खोला र दोर्दी–१ आयोजनाको निर्माण सकिन लागेको छ भने माथिल्लो दोर्दीको पुनर्निर्माण सम्पन्न हुन केही समय लाग्नेछ । दोर्दी खोलाको प्रवर्द्धकले परीक्षण सम्पन्न गरी अबको २० दिनभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

प्राधिकरणले दोर्दी कोरिडोरका आयोजनाको विद्युत केही समयका लागि हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युतगृहको स्वीचयार्डमा जोड्ने वैकल्पिक व्यवस्था गरेको छ । यसका लागि उदीपुर-मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर लाइन दोर्दी कोरिडोरका आयोजनाको विद्युत प्रवाहका लागि उपयोग हुनेछ । यो प्रसारण लाइनको ६ किलोमिटर खण्डको टावर खडा गर्ने कार्य सम्पन्न भई तार तान्ने काम भइरहेको घिसिङले जानकारी दिए ।

ठेकेदारले यो प्रसारण लाइनको काम पनि वैशाखभित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यहाँबाट मध्यमर्स्याङ्दीको स्वीजयार्डसम्म लैजान आवश्यक १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

‘अहिलेको ऊर्जा संकटको समयमा देशभित्र निर्माण भएका जलविद्युत आयोजनाको विद्युत खेर जाने अवस्था आउन दिनु हुँदैन । सञ्चालनका लागि तयार भइसकेको दोर्दी खोला र दोर्दी–१ को ३९ मेगावाट विद्युत प्रवाहलाई छिटो र सहज बनाउन ठेकेदारले पनि गम्भिर भएर काम गर्नुपर्छ’ उनले भने ।

बुटवल पावर कम्पनीको सहायक न्यादी हाइड्रोपावरले निर्माण गरेको न्यादी आयोजनाको विद्युत भने शुक्रबारबाट प्रसारण प्रणालीमा जोडिएको छ । यो आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको छ ।

स्थानीय अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणका ढिलाइ हुँदा वैकल्पिक व्यवस्था गरी चिनियाँ लागानीमा निर्माण भएको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत जोडिएको घिसिङले बताए । चिनियाँले प्रसारण लाइन उपयोग गर्न नदिने अडान राखे पनि प्राधिकरणको निरन्तरको पहलपछि न्यादीको विद्युत जोड्न सम्भव भएको प्राधिकरणले जनाएको छ ।


Read Previous

गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

Read Next

निर्माण व्यवसायीले गरे देशभर ‘कन्स्ट्रक्शन होलिडे’

Leave a Reply

Your email address will not be published.