
काठमाडौं । १०६ मेगावाट जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि निकालिएको ठेक्का जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेसीई/अनकजे जेभीले पाउने भएको छ ।
प्राविधिक प्रस्तावमा पास भएका दुई कम्पनीको वित्तिय प्रस्ताव खोल्दा जेसीई/अनकजे जेभीले कम कबोल गरेसँगै उसैले पाउने भएको हो ।
आवेदन दिएका ४ मध्ये २ कम्पनी प्राविधिक प्रस्तावमा पास भएका थिए ।
जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनएनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेभी र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावमा पास भएका थिए ।
कम्पनीका स्रोतका अनुसार सिनो हाइड्रोले १५ अर्ब ७ करोड र जेसीई/अनकले १३ अर्ब ७३ करोड भ्याटसहित कबोल गरेका थिए ।
कम्पनीले कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको सूचना जारी गर्छ । त्यसपछि ठेक्का सम्झौता अघि बढ्छ ।

ठेक्का पाएपछि निर्माणको जिम्मा पाउने कम्पनीले काम सुरु गर्नेछ । यो सिभिल संरचना र हाइड्रोमेकानिकल तर्फको ठेक्का हो ।
गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालेको थियो । उक्त ठेक्कामा आवेदन दिएका सबै कम्पनीले प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्ध गर्नु परेको हो । कम्पनीका अनुसार ७ कम्पनीले आवेदन दिएका थिए । मूल्यांकन गर्ने क्रममा सबै कम्पनी फेल भएपछि ठेक्का रद्ध गरिएको हो ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । यी दुई आयोजना कर्णालीमा बन्ने भएकाले त्यहाको विकासका लागि महत्वपूर्ण छन् ।