Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चाेकमा निर्माणाधीन १०२ मेगावाटकाे मध्यभाेटेकाेसी जलविद्युत आयाेजनाकाे विद्युत खेर जाने अवस्था आएमा बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएकाे ठेकेदार कम्पनीबाट विद्युत बिक्री बापत हुने आम्दानी असुल्ने चेतावनी दिएकाे छ । निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभई मध्यभोटेकोसीको विद्युत खेर जाने अवस्था आएमा आयोजनाको विद्युत बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको हाे ।

याे आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेसन अभावमा विद्युत खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो । विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं ४००/२२० केभी प्रसारण लाइनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समय सीमा दिएको छ ।

प्रसारण लाइनअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।

लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सवस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी र त्यसका सहायक नदी तथा खोलाकाे जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडाैं प्रसारण लाइन र सवस्टेसन निर्माण भइरहेकाे हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सवस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्त्वपूर्ण प्रसारण लाइन र सवस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नो तर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सवस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, बेहोरिरहेको समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो ।

रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीमार्फत सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोसी आयोजनाको विद्युत बाह्रबिसे सवस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सवस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए ।

“मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सवस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्त्वपूर्ण सवस्टेसन निर्माणमा ढिलाइ गर्ने ?”, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने ।

विद्युत प्राधिकरणले मध्यभोटेसीको विद्युत प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सवस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सवस्टेसनमा जोडिनेछ ।

कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत बाह्रबिसे सवस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सवस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सवस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सवस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सवस्टेसनका जोडिने छ ।

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सवस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने जानकारी दिए । बाह्रबिसे सवस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहने छन् ।

घिसिङले बाह्रबिसे बजारबाट सवस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए ।

प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ ।

यो लाइन बनाउन पनि बाह्रबिस सवस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर तथा ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो ।

यसैगरी, ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार  अमेरिकी डलर र  ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैंक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्र गरी ठेकेदार छनोट गरेको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने एक सय २२ टावरमध्ये एक सय ११ वटाको जग हालिएको छ भने चार वटा टावरको जग हाल्ने काम जारी रहेको छ ।

प्रसारण लाइनकाे १०३ वटा  टावर खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयवासीको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।


Read Previous

स्लेन इलेक्ट्रिक स्कुटर नेपाली बजारमा,जमुनी अटो सेन्टर आधिकारिक आयातकर्ता तथा वितरक

Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

Leave a Reply

Your email address will not be published.