Nepal Purbadhar

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   


काठमाडौं । भैरहवास्थित देशको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित उडान सुरु भएको छ । खराव माैसमका कारण गत पुस ६ गतेदेखि राेकिएकाे उडान बिहीबारबाट पुनः सुचारु भएकाे हाे ।

याे विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो । कुवेतबाट बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको छ ।

जजिरा एअरको विमानले बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाएकाे छ ।


Read Previous

मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी

Read Next

ठेकेदार बेपत्ता भएपछि मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक निर्माण अलपत्र