
गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका-७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि यस क्षेत्रको चर्चा बढ्दै गएको हो।
बूढीगण्डकी नदीको किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा रहेको करिब ५५ मिटर अग्लो न्याउली झरना प्राकृतिक सौन्दर्यका दृष्टिले आकर्षक छ। अग्ला पहाडको बीचबाट निरन्तर खसिरहेको पानी, झरनाको फेदीमा बग्ने बूढीगण्डकी नदी र वरपरको हरियालीले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ।

मनास्लु पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि समेत न्याउली झरना आकर्षणको केन्द्र बन्दै गएको छ। पदयात्रा तथा सवारी यात्राका क्रममा पर्यटक झरना अवलोकन गर्न र तस्बिर खिच्न यहाँ रोकिने गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको लोकप्रियता थप बढेको छ।
झरना क्षेत्रको प्रचारप्रसारका लागि तस्बिर खिच्ने आकर्षक संरचनासमेत निर्माण गरिएको छ। प्राकृतिक सौन्दर्य अवलोकन, फोटोग्राफी र केही समय प्रकृतिसँग रमाउन चाहने युवायुवती तथा पर्यटक समूह यहाँ पुग्ने गरेका छन्। झरनाबाट खस्ने पानीको फोहोराले नजिक पुग्ने पर्यटकलाई भिजाउने भएकाले यहाँको अवलोकन थप रोमाञ्चक हुने गरेको छ।

झरना क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणको तयारीसमेत अघि बढाइएको छ। झरनाको फेदीमा मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ भने थप आकर्षक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना छ।
व्यवस्थित पदमार्ग, सुरक्षित अवलोकनस्थल, सरसफाइ र पर्यटकमैत्री संरचना निर्माण गर्न सके न्याउली झरनामा पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ। पर्यटन गतिविधि विस्तार हुँदा स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जनमा समेत सहयोग पुग्ने देखिन्छ।
प्राकृतिक सम्पदाले सम्पन्न धार्चे गाउँपालिकामा पर्यटन विकासको सम्भावना बोकेको न्याउली झरनाको संरक्षण, प्रचारप्रसार र योजनाबद्ध पूर्वाधार विकास गर्न सके यसलाई उत्तरी गोरखाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिनेछ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


