Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

चालू आर्थिक वर्षकाे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगे ,२२ लाख बढी राजश्व संकलन


गलकोट । चालू आर्थिक वर्ष (२०७९/८० ) काे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगेका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन तेस्रो सातासम्ममा यति पर्यटकले बागलुङस्थित ढाेरपाटनकाे भ्रमण गरेका हुन् ।

पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । उनका अनुसार नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा वर्षेनी वृद्धि हुँदै गएको छ ।

ढोरपाटन क्षेत्रमा बर्षेनी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा छ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालू आवको अन्त्यसम्म त्यो सङ्ख्या बढेर दोब्बर पुग्ने अनुमान रहेकाे पनि उनले बताए ।

ढोरपाटन शिकार आरक्षको तथ्याङ्कअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् ।

विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन् । वैधानिकरुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पङ्गेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकामा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ ।

विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ  । नेपालीलाई प्रतिव्यक्ति १ सय रुपैयाँ छ । आव २०७७/७८ मा ६ हजार ७ सय ३ स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए । चालू आवमा ९ हजार ९ सय १९ पर्यटक शिकार आरक्ष क्षेत्रमा आइसकेका छन् । यो वर्ष १२ हजारको हाराहारीमा पर्यटक पुग्ने अनुमान रहेकाे पङ्गेनीले बताए ।

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ आन्तरिक पर्यटकले समेत १ सय प्रवेश शुल्क तिर्ने प्रावधान बनाइएको छ । आव २०७२/७३ मा ९१, आव २०७३/७४ मा एक सय ३९, आव २०७४/७५ मा १ सय १९, आव २०७५/७६ मा $ सय ८० तथा आव २०७६/७७ मा ३ सय २० विदेशी पर्यटक यहाँ घुम्न आएका थिए ।

यस्तै ढोरपाटन आउने पर्यटकसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ मा ४ लाख १० हजार रुपैयाँ , आव २०७६/७७ मा  ६ लाख ६८ हजार रुपैयाँ , आव २०७७/७८ मा  २० लाख २२ हजार रुपैयाँ तथा चालू आवको हालसम्ममा २२ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन भएकाे छ ।

राजस्व वन्यजन्तु विभागमा जम्मा हुने आरक्षले जनाएको छ । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

यहाँ नाउर र झारलको वैधानिक शिकार खेल्न पाइन्छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । यहाँ होटल तथा घरबास सञ्चालनमा छन् । शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने गरेका छन् । ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै गएको छ ।


Read Previous

काेशी प्रदेशमा मन्त्रालयको नाम परिवर्तन गरेर ‘भौतिक पूर्वाधार विकास’ राखियाे

Read Next

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

Leave a Reply

Your email address will not be published.