Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक


कर्णाली । ट्रयाक खुलेको तीन दशक नाघिसक्दा पनि पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडक अझै पूरा हुन सकेकाे छैन । सरकारी बेवास्ता तथा बजेट अभावका कारण यति समय बितिसक्दा समेत याे सडक परियाेजना सम्पन्न हुन नसकेकाे हाे ।

ट्रयाक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडककाे स्तरोन्नति नहुँदा तथा खोलामा पुल नबन्दा यात्रुहरूले सधैं सास्ती भोग्दै आइरहेका छन् । वर्षाको उर्लँदो भेलमा यात्रुहरूले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल हुने गरे पनि सडककाे निर्माण सम्पन्न गराउन कसैकाे ध्यान जान सकेकेा छैन ।

यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरूको पीडा बयान गरिसक्नुको छैन । हालैको भारी वर्षाले खोलामा पानीको सतह बढाएपछि पुनः ती खोलाहरूमा जोखिम बढेको छ । सडक भत्केर क्षतविक्षत बन्न पुगेको छ ।

पछिल्लो बाढीले पश्चिम सुर्खेतका सबै सडकहरू अवरुद्ध छन् । बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकखण्डमा ब्युरेनीखोला र गुटुखोलामा साना–ठूला सवारीसाधन वारपारमा समस्या छ । चौकुने गाउँपालिका गुटु निवासी स्थानीय रामबहादुर बयकले सडककै दुरावस्थाका कारण पश्चिम सुर्खेत विकासमा पछाडि परेको दुःखेसो पोखे ।

“सडकले हामीलाई सास्तीमात्र दिएको छैन, यसको दुरावस्थाले लज्जित पनि गराएको छ”, उनले भने, “सडक सुधारका लागि वर्षौंदेखि अनुनय गर्दै आयौं, आजसम्म सुधार गर्ने ध्यान कसैमा गएन । यसले गर्दा न यहाँको उत्पादित वस्तु सहजै वीरेन्द्रनगर पुग्छ नत त्यहाँबाट हर समान सजिलै ल्याउन सकिन्छ ।”

सडकमा गहिरा खाल्डाखुल्डी र ठाडो खोलाहरूमा पुल नहुँदा धेरै जोखिम रहेको यात्रुहरू बताउँछन् । पश्चिम सुर्खेतमा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । चौकुने गाउँपालिका हुँदै संचयकाेषकाे लगानी रहेकाे बेतन कर्णाली जलविद्युत आयोजनास्थल पुग्नुपर्छ । तर, त्यहाँसम्म पुग्ने सडक र खोलामा पुल नहुँदा यात्रुले अनेक सास्ती भोग्दै आएका छन् ।

पश्चिम सुर्खेतकै मुख्य सडकको स्तरोन्नतिमा सबैले बेवास्ता गरेको भेरी वन डिभिजन बाबियाचौरका नायब सुब्बा तिलकराम अधिकारीले आरोप लगाए। उनले सङ्घीयताका कारण सदरमुकाम केन्द्रित कार्यालयहरू गाउँमै स्थापना भएकाले सेवाग्राहीदेखि कर्मचारीहरू त्यहाँ पुग्नु बाटोको अवस्था जीर्ण र डरलाग्दो रहेकाे बताए ।

यो सडकलाई हाल मदन भण्डारी राजमार्ग आयोजनामा समावेश गरिएको छ । दाङ–सुर्खेत हुँदै डोटी जोड्ने राजमार्ग यही खण्ड भएर जान्छ । राजमार्ग बन्ने भएपछि यहाँका स्थानीयमा केही आशा जागेको छ । “सडक कालोपत्र हुने र खोलानालामा पक्की पुल बन्नेमा आशावादी छौं, तर यो आयोजना पनि ट्रयाक खुलेजस्तै नहोस्”, बाबियाचौरका स्थानीय रेशम भण्डारीले भने,“यो सडक पश्चिम सुर्खेतको भविष्य हो, हामी छिटो छिमेकी जिल्लासँग यातायात सम्बन्धमा जोडिन चाहन्छौं।”

स्थानीय जनप्रतिनिधिले सडककाे काम छिटाे थाल्न आयोजनालाई आग्रह गरेका छन् । चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विकले राजमार्ग निर्माणकार्यमा आफूहरूले सहजीकरण एवं आवश्यक सहयोग गर्दै आएको बताए । उनले आफू अध्यक्ष हुनु पहिलदेखि नै सडकको स्तरोन्नतिका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको बताए ।

“पूर्व–पश्चिम जोड्ने राजमार्ग बन्नु धेरै राम्रो हो । पहिले जे–जति कारण सडक स्तरोन्नति नभए पनि अब काम दु्रतगतिमा बन्नुपर्छ भनेर हामीले सचेत गराएका छौं”, उनले भने, “प्रदेश सरकारले पनि सडकको काम छिटो सम्पन्न गर्न एउटा खण्डको जिम्मेवारी लिएर निर्माण कम्पनीलाई परिचालन गरिसकेको छ ।”

पश्चिम सुर्खेत खण्डमा वीरेन्द्रनगर सुर्खेतबाट चौकुने गाउँपालिकासम्मको राजमार्गको लम्बाइ ९४ किमी छ । तीमध्ये बड्डीचौरबाट खम्बागाडेसम्म १२.१३ किमी प्रदेश सरकारले कालोपत्र गर्दैछ । तिहारलगत्तै कालोपत्रको काम सुरु गर्ने निर्माण व्यवसायीको भनाइ छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ  लागतमा निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग ठेक्का सम्झौता गरिसकेको छ । सम्झौताअनुसार उक्त जेभीले विसं २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इञ्जीनियर जितेन्द्र साहले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको र बाँकी सडक निर्माणको ठेक्का आह्वानका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताए । राजमार्गकै मापदण्डमा एवं डिपिआर लागू गर्ने गरी प्रदेश सरकारले सडक कालोपत्रको काम सुरु गरेको उनकाे भनाइ छ ।

इञ्जीनियर साहले अर्थ मन्त्रालयले समयमै बजेट उपलब्ध गराएमा बाँकी करिब ८१ किलोमिटर सडक स्तरोन्नति र तत्काल तीन स्थानमा पुल निर्माणको काम अघि बढाइने बताए । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव दिनेश सागरले भुसालले यो विपदकाे समय टेण्टलगायतका आवश्यक समान वितरणका लागि पञ्चपुरी नगरपालिकासम्म कठिनाइले पुगिएको बताए ।

“आन्तरिक मामिलामन्त्री हिमबहादुर शाही, मुख्यमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार मन्त्रालयको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारसहितको टोली त्यहा पुगेको थियो”,सचिव भुसालले भने, “मन्त्रीले स्थानीय तहका प्रमुखहरूलाई प्रभावितहरूलाई आवश्यक राहत दिन र अपुग भएर प्रदेश सरकारसँग माग गर्न निर्देशन दिएका छन् ।

उनका अनुसार मन्त्री शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिवलाई बन्द भएको ठाउँमा बाटो खोल्न र रोकिएका सडक निर्माणका कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् ।


Read Previous

ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

Read Next

विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   

Leave a Reply

Your email address will not be published.