Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  


झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलभित्र रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत  ओइरो लाग्न थालेको छ ।

विगत ५ वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको सतासीधाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि पण्डित (महाराज) नन्दकिशोर भारद्वजले सानो कुटीमा बसी दुई चार वटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्त्व बुझेका व्यक्ति तथा पण्डितसँग भेटघाटका लागि जाने सर्वसाधारण मात्र सो क्षेत्रमा पुग्ने गर्थे ।

तत्कालीन समयको स्मरण गर्दै घनाजङ्गल र बाटोसमेत नहुँदा मानिस धाममा जान डराउने गरेको स्थानीय पत्रकार विनोद सापकोटा बताउँछन् । तर, मुलुक सङ्घीय संरचनामा गएसँगै बनेका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस क्षेत्रको पूर्वाधार विकास, सडकमा गरेको लगानीले धाम क्षेत्र तीर्थस्थल मात्र नभएर धार्मिक पर्यटकीयस्थलमा परिणत भएको उनकाे बुझाइ छ ।

कुनै बेला गुमनाम रहेको ऐतिहासिक महत्त्वकाे सतासीधाम अहिले देशविदेशमा परिचित बनेको बताउँदै पत्रकार सापकोटा भन्छन् “हिउँद होस् या बर्खा यहाँ आउने पर्यटकको अहिले कमी छैन ।” पण्डितको स्वप्रयास, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारमार्फत परेका महत्वपूर्ण योजनाका कारण पनि यस क्षेत्रको मुहार फेरिएको उनी बताउँछन् ।

नगर क्षेत्रले २ करोड ५० लाख रुपैयाँ लगानीमा मन्दिर क्षेत्र परिसरमा पार्केटिङ टायल्स बिच्छ्याउने र दुवै क्षेत्रमा ड्रेन निर्माण गर्ने काम गरेको छ । सो क्षेत्रमा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार मन्दिर र द्ववापार ज्योतिलिङलगायतका सुविधासम्पन्न मन्दिर, हरिदेव संस्कृति विद्यालय, सुविधासम्पन्न अतिथिगृह करोडौँ लगानीमा निर्माण भइसकेको सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए ।

सो क्षेत्रको विकासमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको झै पण्डित (महाराज) नन्दकिशोर भारद्वजको पनि योगदान रहेको उनले जानकारी दिए । गोल गोवर्द्धन गौशालाका माध्यमबाट भारत, अमेरिका, भुटान, क्यानाडा, अस्ट्रेलियासम्म यस क्षेत्रको प्रचारमा महाराजकै योगदान रहेको उनले बताए ।

अध्यक्ष लिम्बुले विभिन्न दातासँग चन्दा लिएर सो क्षेत्रको विकासमा सरकारले भन्दा बढी लगानी महाराजले गरेको जानकारी दिए । “महाराजकै कारण यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विश्वमा चिनियो”, उनले भने, “प्रचारसँगै सहयोग सङ्कलन गरेर करोडौँ रुपैयाँ यस क्षेत्रको विकासमा लगानी गर्नुभयो ।”

नेपालबाट तेस्रो देश पुर्नवास भएर गएका भुटानी शरणार्थी महाराजलाई भेट्न र यस क्षेत्रको दर्शन गर्न आउँदा समेत सहयोग रकम छाडेर जाने गरेको उनले सुनाए । महाराजले नै स्थापना गरेको सतासीधामको गोल गोवर्द्धन गौशालामा हाल ५ सय बढी गाई रहेका छन् । जहाँ स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

पछिल्लो समय धाम विकासको गतिसँगै धाम सुन्दर, घुम्न र बस्नलायक बनेको देखिन्छ । धाम परिसरमा एक सय आठ तुलसीको मोडसमेत निर्माण गरिएकाे छ । हाल झिलझिलेबाट धामसम्म जाने साढे चार किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको छ । दुई वर्षअघि नै बिजुली बत्ती सो क्षेत्रमा पुगे पनि खानेपानी र सञ्चारको भने अझै समस्या छ ।

धामको नामकरणबारेमा विश्व शब्दकोष विकिपिडियामा महाभारतकालीन समयमा पाण्डवले वनबासको बेला गुप्तबास बसी सताक्षीदेवीको आराधना गरेकाे र पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटी अश्रुवर्षा गरी खोलो बगाएको हुँदा देवीको नामबाट सतासी हुँदै यस क्षेत्रको नाम सतासीधाम रहेको भन्ने उल्लेख छ ।

यसैगरी, भारतको तेजपुरबाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनिलाई गुरुको रूपमा लिएर पहाडतर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकाले गुरुहरू यसै सतासीधामका गुफामा बसेर देवीको तपस्या गरकाले ऋषीमुनिको नामबाट सतासीधाम नाम रहन गएको पनि बताइन्छ ।


Read Previous

पाँचखाललाई ‘ग्रीन स्मार्ट-सिटी’ बनाउने योजना कार्यान्वयनमा

Read Next

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

Leave a Reply

Your email address will not be published.