
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आज (मंसिर १० गते) देखि आईपीओ बिक्री प्रक्रिया सुरु गरेको छ।
कम्पनीले पहिलो चरणमा कुल ८ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यो कम्पनीको ८० करोड रुपैयाँ जारी पुँजीको १० प्रतिशत हो।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता शेयर बिक्री खुला गरिएको छ। यो सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत हो। वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीले यसमा आवेदन दिन पाउनेछन्।
कति कित्तासम्म आवेदन दिन पाइन्छ ?
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० र अधिकतम ७ हजार कित्ताको सीमा निर्धारण गरिएको छ।
स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन दिने समय मंसिर २४ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्काशन अवधि पुस १३ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ। सो अवधिमा शेयर बिक्री नभएमा मंसिर २४ गतेसम्म आवेदन दिने समय थपिनेछ।
कहाँबाट दिने आवेदन ?
आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन फाराम प्राप्त गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। फारामबापत २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। उनीहरूले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको वित्तीय मूल्यांकन
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (एनपीभी) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर (आईआरआर) २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ।


