Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   


सिमकोट। विद्युत आपूर्ति अनियमित हुँदा जिल्ला अस्पताल हुम्लामा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता रहँदै आएकाे छ । भाैगाेलिकरूपमा दुर्गम याे हिमाली जिल्लामा एक मात्रै अस्पताल भए पनि विद्युत नियमित नहुँदा बिरामीकाे उपचारमा समस्या हुँदै आएकाे हाे ।

हुम्लीबासीले  बिरामीकाे भिडियो एक्सरे गर्न विद्युत कहिले आउँछ भनी कुर्नुपर्ने सास्ती  बर्षेनि भोग्दै आएका छन्। ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परिरहेकाे छ ।

नेपाल विद्युत प्राधिकरणको हेल्दुम साना जलविद्युत आयोजनाले नियमित विद्युत सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गर्ने गरेका छन् । ५ सय किलोवाट क्षमता भएको जलविद्युत आयाेजनाले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राहीले समस्या भोग्दै आउनु परेको हाे ।

केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताए ।  “साना जलविद्युत आयोजनाकाे नहर मर्मतका कारण उत्पादन बन्द गरिए पनि लगातारको वर्षाले नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ,” उनले भने,“मर्मत गर्ने भनेर कर्मचारी खटाइ काम सुरु गरिए पनि वर्षाले समस्या निम्त्याउँदा सेवाग्राहीले अझै केही समय अध्यारोमा रात कटाउनुपर्ने अवस्था छ । ”

प्राधिकरणले प्रत्येक वर्ष दशैंमा साना जलविद्युत आयोजना मर्मतका नाममा सेवा बन्द गर्दै आएको थियो । यहाँका नागरिकले अध्यारोमै दसैँ मनाउनु पर्ने बाध्यताका साथै हिउँद याममासमेत १८ घण्टा लोडसेडिङकाे समस्या खेप्दै आएका छन् ।

विद्युत नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्याम रेडियोले समेत सास्ती खेप्दै आएका छन् ।
    
लाइट बालेर उपचार    

जिल्ला अस्पतालमा गत मङ्गलबार राति सेवामा खटिएका स्वास्थ्यकर्मी र बिरामीले आफ्नै लाइट बालेर उपचार गराए । प्राधिकरणले साना जलविद्युत आयोजना मर्मतका लागि विद्युत सेवा बन्द गरेपछि सघन उपचार कक्षलगायत अस्पतालमा भर्ना भएका बिरामीले यस्तो समस्या भोग्नुपरेको हो ।

जिल्ला अस्पतालमा आउने बिरामीले पनि प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीले गुनासो थियो ।

रातिको समय विद्युत नहुँदा सघन उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन कठिनाइ छ । अस्पतालमा जडान भएको सोलारले घाम नलागेको बखत काम नगरेका कारण रातभर लाइट बालेर बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता भएको हो । विद्युत्बाट हुने सेवा दिन नसकिए पनि अन्य सेवा भने लाइट बालेर दिनुपर्दा बिरामीले स्वास्थ्यकर्मीमाथि गुनासो गर्ने गरेका छन् ।

यस्तै, विद्युतको अभाबमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेको, उझ्यालको अभाबमा बिरामीलाई दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ । अस्पतालले मागेको समयमा विद्युत् उपलब्ध गराइए पनि नियमित नहुँदा समस्या भोग्नु परेको कार्यालय प्रमुख प्रेम सिंहले बताए । १५ शय्याको याे अस्पतला यस्तै समस्याले गाँजिएकाे छ ।

दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा    

विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासीसहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । दुई हजार दुई सयभन्दा बढी सेवाग्राहीले केही दिन यता अन्धकारमा रात कटाउँदै आएका हुन् । विद्युत् सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीयवासी गौगोरा बोहराले बताए ।

साना जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत् सिमकोट गाउँपालिका–१ देखि ८ सम्म र खार्पुनाथ गाउँपालिका–१,४,५ मा विद्युत् आपूर्ति हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझैसम्म पुग्न सकेको छैन । सेवाग्राहीले यो पटक मात्रै मात्र नभइ महिनैपिच्छे यस्ता समस्य भोग्दै आउनु परेको छ ।

दसैंमै मर्मत कर्मचारीको कमाइ खाने भाँडो    

नेपाल विद्युत् प्राधिकरण कार्यालय दसैंमा कर्मचारीका लागि कमाइ खाने भाँडो जस्तै बनेको छ । दसैं आउन केही दिन मात्रै बाँकी हुँदा विद्युत सेवा अवरुद्ध भएको यो वर्ष मात्रै होइन । गतवर्ष पनि यहाँका बासिन्दाले दसैंको समय अन्धकारमा बिताएका थिए । हिउँद याममा लोडसेडिङको मार खेप्दै आए पनि बर्सेनि दसैंको मुखमा सदरमुकामवासीले यो समस्याबाट छुटकारा नपाएको स्थानीयवासी बोहराले बताए ।


Read Previous

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

Read Next

लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

Leave a Reply

Your email address will not be published.