Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा उद्योगको आम्दानी घट्यो


काठमाडौं । देशभरमा सञ्चालित उद्योगहरूले आफ्नो उत्पादनबाट हुने आम्दानी घटाएका छन् । बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा अहिले सञ्चालित उद्योगहरूको आम्दानीमा पनि गिरावट देखिएको हो ।

नेपाल उद्योग परिसंघले गत आर्थिक वर्ष (२०७८/७९) को उद्योगहरूको औद्योगिक गतिविधिबारे अध्ययन गरी सोमबार (साउन २ गते) सार्वजनिक गरेको प्रतिवेदनमा उत्पादनमुलक र सेवा क्षेत्रका उद्योगको आम्दानी घटेको देखिएको हो ।

उद्योगहरूले गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा आम्दानी घटाएको अध्ययन प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदन अनुसार उद्योगहरूको आर्थिक वर्षको दोस्रो त्रैमासको आय वृद्धिदर २७.१ प्रतिशत रहेकोमा तेस्रो त्रैमासमा यो घटेर १२.८२ प्रतिशतमा समेटिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक र सेवा क्षेत्रका उद्योगहरूको अवस्थाको तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म आइपुग्दा उद्योगहरूको उत्पादन क्षमता खस्किएको छ । यो अवधिमा उद्योगहरूले कूल क्षमताको ६६.८१ प्रतिशत मात्रै उत्पादन दिन सकेको प्रतिवेदनमा जनाइएको छ । दोस्रो त्रैमासिकमा यी उद्योगको उत्पादन क्षमता ७१ प्रतिशत हाराहारीमा थियो ।

माघ, फागुन र चैत्र महिनामा गरिएको अध्ययनमा उत्पादनमुलक उद्योगले औसत १०.९६ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसत १०.९२ प्रतिशत ब्याज बैंक तथा वित्तीय संस्थालाई तिरेका छन् । अघिल्लो वर्ष यही समयमा बैंकको व्याजदर ९.४ प्रतिशत हाराहारीमा मात्रै थियो ।

यस्तै, उत्पादनमुलक उद्योगहरूले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पनि अध्ययनमा पाइएको छ । आघिल्लो त्रैमासमा यी उद्योगको चालु पुँजीको ऋण ३४.४ प्रतिशत थियो ।

अध्ययनमा समेटिएका मध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार भएको प्रतिक्रिया दिएका छन् । प्रतिवेदनको यो अंक मौद्रिक नीतिमा आधारित भई तयार गरिएको परिसंघले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले औद्योगिक प्रतिवेदनले देशको औद्योगिक वातावरणको अवस्था चित्रण गर्ने बताए । उनले उद्योगमा उपयोग हुने जेनेरेटरले खपत गर्ने इन्धनको परिमाण प्रष्ट्याउने र हाल उद्योगमा रहका कोइलाबाट चल्ने बोइलरलाई विद्युतीयमा रुपान्तरण गर्न लाग्ने लागतको पनि अध्ययन गर्न आग्रह गरे ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशिल हुन सरकारलाइ आग्रह गरे । यनले निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलो पटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।


Read Previous

जलविद्युत आयोजना बने नेपाललाई के हुन्छ फाइदा ?

Read Next

ऊर्जा र सूचना प्रविधि क्षेत्रका पूर्वाधारको गुणस्तर वृद्धिमा ध्यान दिन इन्जिनियरलाई प्रधानमन्त्रीको आग्रह

Leave a Reply

Your email address will not be published.