Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा उद्योगको आम्दानी घट्यो


काठमाडौं । देशभरमा सञ्चालित उद्योगहरूले आफ्नो उत्पादनबाट हुने आम्दानी घटाएका छन् । बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा अहिले सञ्चालित उद्योगहरूको आम्दानीमा पनि गिरावट देखिएको हो ।

नेपाल उद्योग परिसंघले गत आर्थिक वर्ष (२०७८/७९) को उद्योगहरूको औद्योगिक गतिविधिबारे अध्ययन गरी सोमबार (साउन २ गते) सार्वजनिक गरेको प्रतिवेदनमा उत्पादनमुलक र सेवा क्षेत्रका उद्योगको आम्दानी घटेको देखिएको हो ।

उद्योगहरूले गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा आम्दानी घटाएको अध्ययन प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदन अनुसार उद्योगहरूको आर्थिक वर्षको दोस्रो त्रैमासको आय वृद्धिदर २७.१ प्रतिशत रहेकोमा तेस्रो त्रैमासमा यो घटेर १२.८२ प्रतिशतमा समेटिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक र सेवा क्षेत्रका उद्योगहरूको अवस्थाको तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म आइपुग्दा उद्योगहरूको उत्पादन क्षमता खस्किएको छ । यो अवधिमा उद्योगहरूले कूल क्षमताको ६६.८१ प्रतिशत मात्रै उत्पादन दिन सकेको प्रतिवेदनमा जनाइएको छ । दोस्रो त्रैमासिकमा यी उद्योगको उत्पादन क्षमता ७१ प्रतिशत हाराहारीमा थियो ।

माघ, फागुन र चैत्र महिनामा गरिएको अध्ययनमा उत्पादनमुलक उद्योगले औसत १०.९६ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसत १०.९२ प्रतिशत ब्याज बैंक तथा वित्तीय संस्थालाई तिरेका छन् । अघिल्लो वर्ष यही समयमा बैंकको व्याजदर ९.४ प्रतिशत हाराहारीमा मात्रै थियो ।

यस्तै, उत्पादनमुलक उद्योगहरूले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पनि अध्ययनमा पाइएको छ । आघिल्लो त्रैमासमा यी उद्योगको चालु पुँजीको ऋण ३४.४ प्रतिशत थियो ।

अध्ययनमा समेटिएका मध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार भएको प्रतिक्रिया दिएका छन् । प्रतिवेदनको यो अंक मौद्रिक नीतिमा आधारित भई तयार गरिएको परिसंघले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले औद्योगिक प्रतिवेदनले देशको औद्योगिक वातावरणको अवस्था चित्रण गर्ने बताए । उनले उद्योगमा उपयोग हुने जेनेरेटरले खपत गर्ने इन्धनको परिमाण प्रष्ट्याउने र हाल उद्योगमा रहका कोइलाबाट चल्ने बोइलरलाई विद्युतीयमा रुपान्तरण गर्न लाग्ने लागतको पनि अध्ययन गर्न आग्रह गरे ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशिल हुन सरकारलाइ आग्रह गरे । यनले निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलो पटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।


Read Previous

जलविद्युत आयोजना बने नेपाललाई के हुन्छ फाइदा ?

Read Next

ऊर्जा र सूचना प्रविधि क्षेत्रका पूर्वाधारको गुणस्तर वृद्धिमा ध्यान दिन इन्जिनियरलाई प्रधानमन्त्रीको आग्रह

Leave a Reply

Your email address will not be published.